वार्षिक दुई लाख बढीले गराउँछन् गर्भपतन
७ वैशाख काठमाडौं । नेपालमा वार्षिक करिब दुई लाख महिलाले गर्भपतन गराउने गरेको प्रतिवेदन सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले गएको मार्च ३० मा सार्वजनिक गरेको प्रतिवेदनले गर्भपतनको यस्तो तथ्यांक देखाएको हो ।
नेपालमा प्रत्येक वर्ष हुने १२ लाख गर्भधारणमध्ये झन्डै आधा अनिच्छत गर्भ रहने गरेको र त्यसमध्ये करिब दुईतिहाइले गर्भपतन गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । गर्भपतनको प्रमुख कारण चाहना नभएरै गर्भ रहनु, परिवार नियोजनका साधनको नियमित प्रयोग नगर्नु र केहीमा परिवार नियोजनका साधन उपलब्ध नहुनु रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार नेपालमा ४३ प्रतिशत महिलाले मात्रै परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको, ४४ प्रतिशतले आधुनिक र सुरक्षित साधन प्रयोग नगरेको र प्रजनन उमेरका २४ प्रतिशत महिला परिवार नियोजनका साधन प्रयोग गर्नबाट वञ्चित भएका छन् ।