जिल्लामा भइरहेको बाँडफाँटप्रति नेपालको असन्तुष्टि


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख १० २०७९
2.6K
SHARES

१० वैशाख काठमाडौं ।आज नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँटप्रति असन्तुष्टि जनाएका छन् ।

अध्यक्ष नेपालले ०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दाबी लाग्ने सहमति भए पनि सोही अनुसार जिल्ला तहको सिट बाँडफाँट नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले स्थानीय तह निर्वाचनको सिट बाँडफाँटको जिल्ला तहको रिर्पोटले आफूहरूलाई उत्साही नबनाएको पनि स्पष्ट पारे । महानगरपालिका र उपमहानगरपालिकाको पदहरुको सिट बाँडफाँटले आफूहरु उत्साही भए पनि जिल्लाको रिर्पोटले भने आशावादी नबनाएको अध्यक्ष नेपालको भनाइ छ  “पाँच दलीय गठबन्धनबीच महानगरपालिका उपमहानगरपालिकामा गरिएको पदहरुको बाँडफाँट उत्साहवद्र्धक थियो । र यसले राम्रो सन्देश पनि दिएको छ ।  तर विभिन्न जिल्लाको रिर्पोटहरु सुन्दाखेरी त्यति आशावादी/उत्साही हुने स्थिति छैन,” उनले भने, “हामीले भनेका थियौ–देशैभरी हाम्रो पार्टीको सञ्जाल छ । हाम्रो पार्टीको संगठन छ । त्यसो हुनाले देशैभरी हाम्रो पार्टीले न्यूनतम रुपमा पनि हाम्रो उपस्थिति हुनैपर्दछ । हामीले भनेका थियौं नेकपा (माओवादी केन्द्र)ले जितेको ठाउँमा सोही पार्टी । नेपाली कांग्रेसले जितेको ठाउँमा कांग्रेस, जनता समाजवादीले जितको ठाउँमा सोही पार्टीको उमेदवार उठाउनु पर्दछ । नेकपा एमालेले जितेको ठाउँमा पहिलो हक र दाबी हाम्रो लाग्नु पर्दछ । तर त्यस अनुसार काम भएन ।”

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा नोमिनेसनकै बेला विद्रोही उमेदवार उठाएर आफ्नो पार्टीलाई हराउने षडयन्त्र एमालेले गरिरहेको आरोप लगाए । केन्द्र सरकार, प्रदेश सरकारबाट हटेको र राष्ट्रियसभा निर्वाचनबाट ‘पछारिएको’ उल्लेख गर्दै उनले एमालेलाई पहिलो शक्ति हुँ भन्ने दम्भ नपाल्न चेतावनी दिए । “भोलि नोमिनेसन फाइल गर्ने दिन हो । पर्सी पनि नोमिनेसन गर्ने दिन हो । यो दुई दिन राखिएकोमा पनि षडयन्त्र होला । ११ गते नोमिनेसन गर्लान् । १२ गते मान्छेको अनुहार हेरी विद्रोही उमेदवार खडा गरिदिउँला भनि सोचेका पनि होलान् । अनि आफूले मात्रै त्यस्तो तिकडम गर्न जानेको छ भनि ठानेका होलान् । अरुले पनि त्यस्तो तिकडम जानेको छ,” उनले भने ।

अध्यक्ष नेपालले एमाले भित्रका केही नेताहरु निराश र हतास मनस्थितिमा रहेको दाबी गर्दै उनीहरुलाई आफ्नो पार्टीमा आउन पनि आह्वान गरे ।