आज र भोलि मनोनयनपत्र दर्ता
११ वैशाख काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि आज र भोलि मनोननयनपत्र दर्ताको कार्यतालिका तोकेको छ । यही वैशाख ३० गते हुने निर्वाचनका लागि उमेदवारहरूको आज र भालि मनोनयनपत्र दर्ता गर्नु पर्नेछ ।
बिहान १० देखि बेलुका ५ बजेसम्म योग्यता पुगेका व्यक्तिले तोकिएबमोजिमको प्रक्रिया पूरा गरी मनोनयनपत्र दर्ता गराउन सकिने आयोगले जनाएको छ । दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउन आयोगले आग्रह गरेको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले निर्वाचनको तयारी सम्पन्न गरेको र अब उमेदवारी, मतदान, मतगणना र नतिजा प्रकाशनतर्फ आयोग उन्मुख रहेको बताएका छन् ।
उनले उमेदवारी दर्ता गर्ने सन्दर्भमा दुई पार्टीको भेट नहुने गरी व्यवस्था मिलाउन निर्देशन दिइएको बताएका छन् मनोनयनपत्र दर्ता भएको उमेदवारको सूची १२ गते प्रकाशन गर्ने, वैशाख १३ गते उमेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने आयोगको कार्यतालिका छ ।
वैशाख १५ गते मनोनयन भएको उमेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उमेदवारले नाम फिर्ता लिने र उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।