आफताब आलमबारे सर्वोच्चले दियो यस्तो आदेश


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख २३ २०७९
4.5K
SHARES

२३ वैशाख काठमाडौं। काँग्रेस नेता मोहम्मद आफताब आलम तत्काल थुनामुक्त नहुने भएका छन्। विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग अन्तर्गत थुनामा रहेका आलमलाई सर्वोच्च अदालतले शुक्रबार उच्च अदालतकै निर्णयलाई सदर गर्दै उनलाई थुनामुक्त गरिरहन नपर्ने ठहर गरेको हो। न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न नपर्ने ठहर गरेको हो।

आलमलाई यसअघि उच्च अदालतले थुनामा पठाउन आदेश दिएको थियो। आलमले उच्च अदालतको उक्त आदेशलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। सोही रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उनलाई तत्काल थुनामुक्त गर्न नपर्ने ठहर गरेको हो।

ईँटा भट्टामा हालेर २० भन्दा बढी मजदुरलाई जिउँदै जलाएको अभियोगमा पक्राउ परेका आलमलाई जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो। आलमले २०७७ असोज १२ गते जिल्ला र उच्च अदालतको आदेश बदर गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन पेश गरेका थिए। जिल्ला र उच्च अदालत हुँदै सर्वोच्च पुगेको आलमको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन छ।

पुर्पक्षका लागि थुनामा पठाउने रौतहट जिल्ला अदालतको आदेश र सोही आदेश सदर गर्ने उच्च अदालत वीरगञ्जको आदेश खारेज हुनुपर्ने माग गरिएको छ।

सरकारी वकिलको कार्यालय रौतहटले आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराई घाइते भएको घटनामा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने माग गर्दै मुद्दा दर्ता गरेको थियो।