निर्वाचन निष्पक्ष, भयरहित र सुरक्षित बनाउन आईजीपी सिंहको निर्देशन


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख २५ २०७९
4.3K
SHARES

२५ वैशाख काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले एकै चरणमा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, भयरहित एवम् सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्क र संवेदनशील हुन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् शनिबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा उपत्यका एवम् प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्वाचनलाई निष्पक्ष एवम् भयरहित बनाउन निर्देशन दिएका हुन् ।

निर्वाचनलाई निष्पक्ष एवम् भयरहित तवरले सम्पन्न गराउन आफ्नो व्यावसायिकता प्रदर्शन गर्ने अवसरको रुपमा लिनुपर्ने उल्लेख गर्दै महानिरीक्षक सिंहले निर्वाचनको सुरक्षामा खटिने प्रहरी अधिकृत तथा जवानहरूले निर्भिकता र व्यावसायिकताका साथ जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गरे ।

निर्वाचनका क्रममा आउन सक्ने चुनौतिलाई समाधान गर्न आवश्यक सुरक्षा योजना, रणनीति तय गरी अन्य सुरक्षा निकायसँग आवश्यक सहकार्य एवम् समन्वय गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

विगतमा भएका सफल अभ्यासहरूलाई पछ्याउँदै सबै प्रदेश प्रहरी कार्यालयहरुले एकआपसमा समन्वय र सहकार्य गर्नुपर्ने बताए ।

सिमावर्ती क्षेत्रमा हुन सक्ने तस्करीलगायत आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न थप क्रियाशील हुनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिको पहिचान गरी कानूनी दायरामा ल्याउनुपर्ने बताए ।