अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको उद्घाटन हुँदै, भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख २६ २०७९
3.2K
SHARES

२६ वैशाख बुटवल । आगामी जेठ २ गते अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन हुने भएको छ । २५६६औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा निर्माणाधीन पाँच हजारजना अट्ने क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन् ।

कोभिड–१९ का कारण दुई वर्षसम्म बुद्धजयन्ती मनाउन नसकिएकोले लुम्बिनीमा कोभिडको प्रभाव छैन भन्ने सन्देश दिनको लागि लुम्बिनी, कपिलवस्तु र नवलपरासीमा चार दिनसम्म विशेष कार्यक्रम गरी मनाउन लागिएको लुम्बिनी विकास कोषले जनाएको छ । जेठ १ गते रामग्राममा विशेष पूजाआजा र दीप प्रज्ज्वलन, २ गते लुम्बिनीमा विशेष कार्यक्रम तथा दीप प्रज्वलन र दिउँसो बृहत् कार्यक्रम, साँझ रुपन्देहीको देवदह, नवलपरासीको रामग्राम, लुम्बिनी र कपिलवस्तुको तिलौराकोटमा विशेष पूजासहित दीप प्रज्वलन तथा सुरसुधाको सांगीतिक कार्यक्रम हुने भएको छ ।

जेठ ३ र ४ गते लुम्बिनीदेखि कपिलवस्तुसम्म सिद्धार्थ गौतमको शोभायात्रा, प्राचीन शाक्य गणराज्यको राजधानी कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्नेसम्बन्धी देश विदेशका विज्ञहरूको सम्मेलन हुने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । बुद्धजयन्तीको अवसरमा ७४ करोडको लागतमा निर्माण भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन हुने विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने

बुद्धजयन्तीको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने कार्यक्रम रहेको छ । लुम्बिनी विकास कोषले आधिकारिक रूपमा घोषणा नगरे पनि मोदी आउने पक्काजस्तै भएको बताइएको छ ।

कोरोनाका कारण दुई वर्षदेखि थला परेको पर्यटन व्यवसाय देश विदेशका पर्यटकहरूलाई निमन्त्रणा गरेकाले लुम्बिनीमा हजारौँको संख्यामा पर्यटक आउने विश्वास विकास कोषले लिएको छ ।

यसैगरी, कुवेतबाट जजिराले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु बोकेर अवतरण गर्ने कार्यक्रम रहेको छ । कुवेतबाट आउने जहाज र पर्यटक, भारतका प्रधानमन्त्री र पर्यटक, नेपालका उच्च पदस्थ व्यक्तित्वहरू र आन्तरिक पर्यटकहरू लुम्बिनीमा आउने भएपछि लाखौँ पर्यटक बुद्धजयन्तीमा भित्रिने अपेक्षा गरिएको छ ।