यी क्षेत्रमा हुने छैन दुईदिन बिदा
२७ वैशाख काठमाडौं । जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको छ । यसअघि नै मन्त्रिपरिषद्बाट निर्णय भइसकेको शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको छ ।
“संवत् २०७९ सालको लागि निर्धारण गरिएका दसैं र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल, स्वास्थ्य चौकी रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, कन्सुलर सेवा, राहदानी सेवा, हुलाक, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, बैंकिङ्ग सेवा, आन्तरिक राजश्व, भूमिसुधार तथा मालपोत कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, भन्सार कार्यालय र स्थानीय तहले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्ने,” गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा भनिएको छ । तर यसरी सार्वजनिक बिदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिने गरि सम्बन्धित निकायले कर्मचारी व्यवस्थापन गर्नुपर्ने सूचनामा उल्लेख छ ।
नेपाल सरकारले आगमी जेठ १ गतेदेखि लागु हुनेगरि सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गर्दै सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० देखि साँझ ५ः३० सम्म बनाएको छ । त्यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ५ः३० देखि साँझ ४ः३० सम्म हुनेछ ।