अन्तर्घातले चुनाव हारियो – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ ११ २०७९
5.6K
SHARES

११ जेठ काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावमा पराजयको प्रमुख कारण अन्तर्घात भएको बताएका छन्। बुधबार एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले अन्य दलका कारण नभई एमालेकै कारण धेरै ठाउँमा चुनाव हारिएको बताएका हुन्।

‘काँग्रेस, मा‌‌ओवादी र माधवकुमार नेपालको पार्टीमा होइन यस पटक एमालेमा अन्तर्घात भयो। कहाँबाट सिके यस्तो यस विषयमा बृहत्‌रुपमा समीक्षा गरिनुपर्छ,’ अध्यक्ष ओलीलाई उद्धृत गर्दै सांसद नवीना लामाले भनिन्, ‘चार-चार वटा महानगरपालिकामा हामीले उपमेयरमा जित्यौं तर मेयर जित्न सकेनौं। यो अन्तर्घातको कारणले हो।’

अध्यक्ष ओलीले काँग्रेस, माओवादी र एकीकृत समाजवादीभन्दा एमालेमा अन्तर्घात बढी भएको बताए। उनले पार्टीको जनमत घटेको नभई बढेको समेत दाबी गरे। वैशाख ३० गते भएको स्थानीय तहको चुनावी परिणाम सार्वजनिक भएपछि अध्यक्ष ओलीले पहिलो पटक प्रतिक्रिया दिएका हुन्। ओलीले सत्ता गठबन्धनले सत्ता दुरुपयोग गरेर पनि चुनावी परिणामलाई आफ्नो पक्षमा पारेको आरोप लगाए।