पाइलटको मोबाइलमा घण्टी गइरहेको छ


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ १५ २०७९
5.4K
SHARES

१५ जेठ काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले मुस्ताङको टिटी लेक वरपर तारा एयरको जहाजको खोजी केन्द्रित गरिएको जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार क्याप्टेन प्रभाकर घिमिरेको फोन ट्र्याक गर्दा लेते आसपासमा लोकेसन पत्ता लागेकाले खोजी त्यतै केन्द्रित गरिएको हो ।

ठाकुरले  भने, ‘पाइलटको मोबाइलमा घण्टी गइरहेको छ । एनटिसीबाट ट्र्याक गर्दा मोबाइलको लोकेसन टिटी लेक भनेर देखाएको छ, त्यसैले हामीले त्यतैतिर खोजी केन्द्रित गरिरहेका छौं ।’

मौसम खराब भएकाले खोजीका लागि हेलिकप्टर पठाउन कठिन भइरहेको छ । पोखराबाट नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी गर्दा प्रतिकूल मौसमका कारण तत्काल सम्भव नदेखिएकाले जोमसोमबाटै टिटी लेकतर्फ हेलिकोप्टर परिचालन गर्ने तयारी गरिरहेको ठाकुरले जानकारी दिए ।

यसअघि स्थानीयले घाँसातिर ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर सूचना दिएपछि प्रहरी र स्थानीयको टोली त्यसतर्फ गएको थियो तर त्यहाँ जहाज फेला परेन ।

१९ जना यात्रु र ३ जना चालक दलका सदस्य गरी २२ जना सवार ९ एन एईटी कलसाइनको ट्वीनअटर जहाज आज बिहान पोखराबाट मुस्ताङका लागि उडेको थियो । जहाज सिनियर क्याप्टेन प्रभाकर घिमिरेले उडाएका हुन् ।