घट्यो सार्वजनिक सवारीसाधनको भाडा, कहाँ पुग्न कति ? (सूचीसहित)
१२ असार काठमाडौं। इन्धनको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा घटाएको छ। इन्धनको मूल्य ५ प्रतिशत भन्दा बढीले घटेकाले मूल्य समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।
शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटाएलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा पनि घटाएको हो। यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ।
एक प्रदेशभित्रै अर्थात् स्थानीय रुटमा भने पुरानै भाडा यथावत रहनेछ। विभागका अनुसार पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै घटेमा फेरि स्वचालित प्रणाली अनुसार भाडा घट्ने छ भने पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै बढेमा थप बढ्नेछ।
सरकारले शनिबार पेट्रोलको मूल्यमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको थियो। यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनुसार भाडा घटाएको हो।