सक्रिय हुँदै मनसुन


Capital Headline
प्रकाशित मिति : बुधबार, असार १५ २०७९
2.1K
SHARES

१५ असार काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मनसुन थप सक्रिय हुने जनाएको छ। मंगलबारदेखि बिहीबारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुने महाशाखाले बताएको छ।

आगामी तीन दिन पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनाका साथै ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले आग्रह गरेको छ।

मंगलबार राति प्रदेश १, मधेश, बागमती, गण्डकी‚ लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षा हुने र केही स्थानमा भीषण वर्षा हुने महाशाखाको अनुमान छ। यस्तै‚ बुधबार प्रदेश १, मधेश, बागमती, गण्डकी‚ लुम्बिनी र र सुदूरपश्चिममा भीषण वर्षा हुने महाशाखाले जनाएको छ।

बिहीबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भीषण वर्षाको सम्भावना छ। बाँकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।