ठमेल पर्यटन विकास परिषदको उपाध्यक्षमा यस कारण मेरो उम्मेदवारी – सहदेव धमला
२८ असार काठमाडौ । ठमेल पर्यटन विकास परिषदको नयाँ कार्यसमितिको लागि असार ३२ गते निर्वाचन हुँदैछ ।परिषदको उपाध्यक्ष पदमा व्यवसायी सहदेव धमलाले उम्मेदवारी दिएका छन् । धमलाले भविश्वर शर्माको प्यानलबाट उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले समग्र ठमेल क्षेत्रको विकासको लागि आफुले उम्मेदवारी दिएको बताए । “राम्रो ठमेल, हाम्रो ठमेल“ बनाउने आफ्नो टिमको योजना रहेको उनले सुनाए । शर्माको टिममा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समर्थन रहेको भन्दै आफ्नो प्यानलले जित्ने दाबी गरे । धमला विगत १८ वर्षदेखि राजधानीको ठमेललगायतका विभिन्न स्थानमा व्यवसाय गर्दै आएका छन् ।
उनले ठमेलस्थित काठमाडौं इको होटल, बेस्ट हेरिटेज टुर एण्ड ट्राभल्स, शैक्षिक संस्था, अन्य होटल तथा रेष्टुरेन्ट सञ्चालन समेत गर्दै आएका छन् । स्नातकोत्तर सम्मको अध्ययन गरेका धमला ठमेल पर्यटन विकास परिषदका पुर्व कार्य समितिका सदस्य पनि हुन् ।