सुन्दरीजलमा खोलामा चिप्लिएर बेपत्ता
८ साउन काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने काठमाडौंको सुन्दरीजलस्थित खोलामा बेपत्ता भएका १६ वर्षीय शुभमश्री प्रधानको खोजीकार्य जारी छ । शनिबार अपराह्न करिब ४ बजे खोलामा फोटो खिच्ने क्रममा खसेको सामान टिप्न जाँदा चिप्लिएर प्रधान बेपत्ता भएका हुन् । सिन्धुपाल्चोकका उनी काठमाडौंको कपनमा परिवारसँग बस्दै आएका थिए ।
महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज निरौलाका अनुसार शनिबार सात साथी मिलेर घुम्न सुन्दरीजल पुगेका थिए । “सातजना साथीको समूहमा शुभम घुम्न आएका थिए । फोटो खिच्ने बेला खसेको सामान टिप्न खोज्दा खोलामा चिप्लिए,” उनले भने, “त्यसपछि प्रहरीलाई खबर आयो ।”
स्थानीयले केही मिटर तलसम्म बगेको देखेको प्रहरीलाई बताएका छन् । सोहीअनुसार नेपाली प्रहरी, सशस्त्र प्रहरी, परिवार एवं आफन्तले खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ ।