चेक बाउन्स : बैंकिङ कसुरको मुद्दा लाग्ला नि


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २३ २०७९
8.6K
SHARES

२३ साउन काठमाडौं । सर्वाेच्च अदालतले बैंकिङ्ग सम्बन्धी कानुनलाई परिमार्जन गरेको छ । अब खातामा भएको भन्दा बढी रकमको चेक काटेमा बैंकिङ्ग कसुर सम्बन्धी कारबाही हुने भन्दै सर्वाेच्च अदालतको पछिल्लो फैसलामा उल्लेख गरेको छ । ३ बर्षअघिको आफ्नै फैसलालाई सर्वाेच्चले सच्याउदै चेक बाउन्स भएको खण्डमा बैंकिङ्ग कसुर भएको मानिने भन्दै सर्वाेच्चले आफ्नै फैसलालाई सच्याएको हो । न्यायधिसद्धय आनन्दमोहन भट्राई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको पूर्ण इजलासले चेक बाउन्सलाई बैंकिङ्ग कसुर हुने भन्दै निर्णय गरेको हो । ३ बर्ष अघि मात्रै न्यायधिसहरु डम्बरबहादुर शाही र कुमार रेग्मीको इजलासले चेक बाउन्स हुनुलाई मात्रै बैंकिङ्ग कसुर नमानिने, खातामा पर्याप्त रकम नभएको अवस्थामा पनि चेक काटी भुक्तानी लिने–दिने कार्य सम्पन्न भएमात्रै बैंकिङ्ग कसुर हुने फैसला गरेका थिए ।

पछिल्लो समय चेक वाउन्सको मुद्दा  बढेको छ । २०७८÷०७९ मा मात्रै बैंकिङ्ग कसुर सम्बन्धी मुद्दा को संख्या ४ हजार ५ सय ९० पुगेको छ । यस मध्येमा पनि करिब ८० प्रतिशत मुद्दा  चेक बाउन्सको रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । बैंकिङ्ग कसुर तथा सजाय ऐन र विनिमय अधिकारपत्र ऐन दुबैमा चेक बाउन्स सम्बन्धी कानुनी व्यवस्था रहेकोले पनि कार्यान्वयनमा समस्या आएको सरकारी अध्ययनले देखाएको छ । चेक अनादरको मुद्दा  बैकिङ्ग कसुर भनी थुनामा राख्ने प्रवृत्ति देखिएको तथा ठगी कसुरमा समेत मुद्धा चलाउने गरिएको थियो । सर्वाेच्च अदालतको पछिल्लो फैसलाले दुबै ऐनको प्रयोगको बाटो खुल्ला गरिदिएको छ ।