म नभएको भए पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने थिएन – उपाध्यक्ष पाण्डे


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ५ २०७९
4.5K
SHARES

५ भदौ पोखरा । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले आफूले गर्दा नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेको दाबी गरेका छन् । आफू अर्थमन्त्री भएको बेलामा बजेट सहितको प्रक्रिया अगाडि बढाएकै कारण विमानस्थल बन्न सम्भव भएको उनले बताए ।

आइतबार बिहान प्रेस चौतारी कास्कीले गरेको पत्रकार सम्मेलनमा निर्माण सम्पन्न हुन लागेको विमानस्थलको बारेमा बोल्दै उपाध्यक्ष पाण्डेले आफू नभएको भए विमानस्थल सम्भव नहुने बताएका हुन् ।

आफूले चिनियाँलाई पत्र लेखेकै कारण विमानस्थल सम्भव भएको र कांग्रेस भएको भए चिठी नै नलेख्ने पाण्डेको दाबी छ । आफू अर्थमन्त्री हुँदा माथिल्लो त्रिशुली थ्री एको बचत रकम नै पोखरा विमानस्थलमा खर्च गर्न भनेको उनले बताए ।

“माथिल्लो त्रिशुली थ्री एमा २०० मिलियन डलर ऋण लिने भनेर चिनियाँसँग सम्झौता भएको रहेछ पहिले । तर, अगाडि बढेको थिएन,” पाण्डेले भने, “त्यसपछि, म अर्थमन्त्री भएको बखत चाइनिज एम्बेन्सीका एक काउन्सिलरले कहिले जाने चाइना भनेर भने । मैले किन जाने, भोज खान ? भनेँ । उनले २०० मिलियन डलर लिने भनेको छ, कुरा अगाडि बढेको छैन भने ।”

त्यसपछि आफूले नेपाल विद्युत प्राधिकरणका चिफसँग कुराकानी गरेको पाण्डेले बताए । आफूले प्रश्न गरेपछि तत्कालीन चिफले ठेक्काको प्रक्रिया अगाडि बढेको छैन भनेको उनले सम्झिए । त्यसबेला प्राधिकरणमार्फत आएको पैसामध्ये १११ मिलियन डलर खर्च भएको र बाँकी ८९ मिलियन डलर आफ्नो पहलमा पोखरा एयरपोर्टमा लगाएको उनले दाबी गरे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आफूले नै पत्र लेखेर थप ऋण सुनिश्चित गरेको पाण्डेको दाबी छ । कांग्रेसका मन्त्री भएको भए कुनै पत्र नलेख्ने र विमानस्थल बन्न नसक्ने उनले ठोकुवा गरे ।

“त्यसपछि थप २०० मिलियन डलर बढी ऋण माग्ने चिठी मैले नै लेखेँ । त्यो प्रक्रिया बनेपछि अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगभग पूर्ण भइसकेको छ,” पाण्डेले भने, “म त्यो बेलामा अर्थमन्त्री थिइनँ भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अहिले पनि बन्ने थिएन । कांग्रेसका मन्त्रीले चिठी लेख्ने थिएनन्, अरुले ऋण दिने थिएनन् । जोसँग पैसा छैन, उसँग मागेर के गर्ने ?”

फरक प्रसंगमा पाण्डेले आगामी निर्वाचनबाट बहुमतको सरकार नआउने पनि बताए । उनले गठबन्धनले निर्वाचनमार्फत समस्याको समाधान लिएर आउने भन्दा समस्या मात्रै लिएर आउने बताए ।

अहिलेको राजनीतिक समस्याको समाधान गर्न नसक्ने आशंकाकै बीचमा देश चुनावतर्फ गइरहेको पाण्डेले बताए । आगामी चुनावपछि पनि बहुमत नपुग्दा खिचातानी हुने र त्यसले अहिलेको असन्तुष्टि हटाउने भन्दा जारी राख्ने सम्भावना बढी रहेको उनको भनाइ छ ।