विश्वको सबैभन्दा एक्लो व्यक्तिको मृत्यु
१६ भदौ काठमाडौं । अमेजनको घना जंगलको बीचमा एउटा झुपडी छ। २३ अगस्टमा ब्राजिलको एजेन्सी फुनाई त्यहाँ पुग्दा झुपडीबाहिर पिङमा एक व्यक्तिको शव फेला परेको थियो । ती व्यक्ति विगत २६ वर्षदेखि त्यहाँ एक्लै बस्दै आएका थिए र आफ्नो जनजातिको एकमात्र उत्तराधिकारी थिए । उनको मृत्युसँगै त्यो जाति र संस्कृति पनि समाप्त भयो।
फुनाईले शनिबार जारी गरेको विज्ञप्तिमा उनको प्राकृतिक कारणले मृत्यु भएको हुनसक्ने बताएको छ । यद्यपि, झुपडी र आसपासका क्षेत्रमा खोजी गर्न आपराधिक विज्ञहरू पनि पठाइएको छ । साथै उनको शव पोष्टमार्टमका लागि राजधानी ब्रासिलिया पठाइएको छ । त्यहाँ एजेन्सीले डीएनए परीक्षण गर्नेछ। त्यसपछि उनको शवलाई फेरि जंगलमा गाडिनेछ ।कुनै जनजाति लोप हुने घटना रेकर्ड भएको यो पहिलो पटक हो । विज्ञहरू भन्छन्, ‘यस्ता धेरै जनजाति छन्, जसको संसारसँग कुनै सम्पर्क छैन ।’ फुनाईले बाहिरी संसारबाट अलग्गै रहेका कम्तीमा ११४ जनजातिको प्रमाण फेला पारेको छ । तीमध्ये २८ जनाको मात्रै उपस्थिति रहेको निश्चित गर्न सकिन्छ ।