‘जारी छ आन्दोलन !’


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २ २०७४
3.1K
SHARES

सडकमा जनसागर उर्लिएको थियो । जनताको नारा र नेताको भाषणले भिड झन् बाक्लिँदै र उखरमाउलो बन्दै थियो ।  ती सबै कुरादेखि बेखबर थियो एउटा कोठा । कोठाभित्र एक युवक बाहिरी संसारको गतिविधिप्रति सरोकारविहीन भएर आफ्नै दुनियाँमा मग्न थियो । राजनीति शब्दप्रति नै उसलाई घृणा थियो ।

 

०६२/६३ को जनआन्दोलन चलिरहँदा रंगकर्मी सुदाम सिकेको दिनचर्या थियो त्यो । चैत २४ देखि सुरु भएको आन्दोलन १९ दिनसम्म चल्यो, तर उनी एक दिन पनि सहभागी भएनन् । प्रदर्शन र कफ्र्युले रापिएको राजधानीमा उनी सोह्रखुट्टे नयाँ बजारस्थित कोठामै थुनिएर बस्थे ।

लगातारको आम हडतालले महँगी बढेर टिक्नै गाह्रो भएपछि बल्ल उनी कोठाबाट निस्किए । त्यो पनि आन्दोलनमा सहभागी हुनका लागि हैन, घर जान । उनी झोला बोकेर धादिङ चैनपुरतिर लागे ।

‘गाडी बन्द भएकाले यहाँबाट मलेखुसम्म हिँड्दै गएँ, त्यहाँबाट गाडी पाइयो’, सुदाम दश वर्ष अगाडि फर्किए, ‘म काठमाडौंबाट १० गते हिँडेको थिएँ, भोलिपल्ट त आन्दोलन सक्किगो ।’

त्यतिबेला सक्किएको आन्दोलन फेरि दोहोरिने भएको छ । आन्दोलन रंगमञ्चमा हेर्न पाइने भएको हो । राजनीतिप्रति बिलकुल रस नभएको त्यसबेलाको आफू जस्तै युवाको कथाबारे उनले नाटक ‘आन्दोलन’ तयार पारेका छन् ।

Sudam CK

 

दोस्रो जनआन्दोलन सुरु भएको दिन चैत २४ गतेदेखि नै थिएटर मल सुन्धारामा नाटक मञ्चन हुँदै छ । रोचक के छ भने, त्यसबेला आन्दोलन १९ दिनसम्म चलेर बैशाख ११ गते टुंगिएको थियो । यो नाटक पनि १९ दिनसम्म मञ्चन गरिँदै छ ।

राजनीतिलाई विगतमा छक्कापञ्जा खेलभन्दा बढ्ता नमान्ने उनी निर्देशित नाटकले सबै नागरिकमा राजनीतिक चेतना हुनुपर्छ भन्ने कुरालाई उठाएको छ ।

***

राजनीतिक चेतनाको कुरा गर्दा सुदाम राजनीतिलाई बकवास मान्ने पृष्ठभूमिबाट हुर्किएका हुन् ।

स्कूल–कलेजमा साथीभाइले अटो भर्न दिँदा समेत उनी लेख्न छुटाउँदैनथे, ‘आई हेट पोलिटिक्स !’ राजनीति गर्ने खराब मान्छेहरु देखेर उनले राजनीति भन्ने चिज नै खराब रै’छ भन्ने धारणा बनाए ।

‘मैले पोलिटिक्स र पोलिटिसियनमा त्यसबेला भिन्नता छुट्याउन नसकेको हुँ’, उनले भने, ‘राजनीति गर्छु भन्ने मान्छेहरुको हेपाइमा परेको हुँ म । त्यसले गर्दा पनि राजनीति भनेको राम्रो कुरा रहेनछ भन्ने छाप पर्‍यो ।’

उनको घरमा पनि राजनीतिका कुरा हुँदैनथे । भारतमा कमाउन जाने बुवा बल्ल दशैंमा घर झुल्किन्थे । घर खर्च कसरी चलाउने भन्ने चिन्ता मात्र हुँदा दायाँ–बायाँ सोच्ने र चासो राख्ने समय नै हुँदैनथ्यो ।

राजनीतिप्रति यति धेरै विरक्तिएका सुदामले ‘च्यातिएको पर्दा’ पछि दोस्रो नाटक निर्देशन गर्ने क्रममा  अन्तत: राजनीतिसँगै जोडिएको नाटक रोजे ।

नयाँ नाटक खोज्ने क्रममा एउटा कथा पढ्दा उनले विगतको आफू जस्तै राजनीतिक चेतनाको हिसाबले काँचो पात्र भेटे, त्यसले उनलाई निकै छोयो । त्यो कथा थियो, सौरभ कार्कीको कथा ‘आन्दोलन’ ।

राजनीति र देशको कुरामा कुनै वास्ता नराख्ने कथाको ‘ऊ’ पात्रले उनलाई १० वर्षअघिको समयमा मात्र पुर्‍याएन, यसलाई नाटकमै उतार्नुपर्छ भन्ने लाग्यो । उनले कार्कीलाई नाटक लेख्न आग्रह गरे । नाटक लेखेको चार महिनाको प्रयासमा नाटक तयार भएको हो ।

राजनीति नबुझे पनि केही फरक पर्दैन भनेर टाढा बस्ने एक समयको आफू जस्तै मान्छेहरुका लागि सुदामले यो नाटक रोजेका हुन् ।

यो नाटक गर्न उनलाई कुन सोचले प्रेरित गर्‍यो त ?

उनी सुनाउँछन्, ‘अहिले पनि राजनीति र समाजप्रति सरोकार नराख्ने युवाहरु छन् । पढेलेखेका र सचेत मान्छे त्यसरी निरपेक्ष बस्यो भने त समाज र देश परिवर्तन हुँदैन । उनीहरुले देश र समाजको बारेमा सोच्छन् कि र कसैमाथि अन्याय पर्दा आवाज उठाउँछन् कि भनेर झकझक्याउन यो नाटक गरियो ।’

निर्देशकसँगै भेटिएका नाटकका लेखक कार्कीलाई भने इतिहासको तत्कालीन अवस्था बिर्सिएर निराधार टिप्पणी गर्नेहरुको स्वर चित्त बुझेको रहेनछ । अहिलेको राजनीतिक अवस्थाप्रति विरक्तिँदै कतिपयले ‘राजा आऊ देश बचाऊ’ भन्ने गरेकोप्रति उनी असहमति पोख्छन् ।

‘हामीलाई ०६२/६३ को आन्दोलनले राजनीतिक रुपमा यति चेतनायुक्त बनाइदियो, आज हामी बोल्न पाइरहेका छौं । यदि राजा आएर देश बचाउने कुरा भइदिएको भए हामीले यो नाटक देखाउन सक्ने अवस्था पनि रहँदैन थियो होला’, उनले भने ।

त्यो आन्दोलन देशको कस्तो परिस्थितिमा भएको थियो भनेर सम्झाउन र बुझाउन नाट्यकर्मीहरुले मञ्चमार्फत आन्दोलनको घोषणा गरेका हुन् ।

‘आन्दोलन’ नाटकको थिम नै छ– ‘बिर्सिएकाहरुलाई सम्झाउन, नयाँ पुस्तालाई बुझाउन ।’

दोस्रो जनआन्दोलन कुन परिस्थिति र कस्तो राप–तापमा भएको थियो, त्यसमा सहभागी भएकाहरुमा पनि धमिलो सम्झना मात्र बाँकी होला । त्यसभन्दा पछाडिका पुस्ताले आन्दोलनका कुरा छिपछिपे कथाको रुपमा मात्र सुनेका छन् । आन्दोलनको आवेग र महत्व दर्शाउन ती दुवैथरी दर्शकलाई नाटकघरसम्म डोर्‍याउने निर्देशकको उद्देश्य छ ।

नाटकले आत्मकेन्द्रित र एकलकाटे हुँदै गएको मानवीय प्रवृत्तिलाई समाजतिर फर्काउने तरंग पनि बोकेको छ । समाजमा कसैलाई केही समस्या परेको छ भने रमिते बनेर फर्किनुलाई नै धेरैले आफ्नो दायित्व सम्झने गर्छन् । नाटकको पेटबोली छ, पीडित र अपहेलितको लागि आफूले सक्नेजति केही गर ।

सुदाम पनि ०६४ सालमा नाटकको केही तालिम लिएर ०६७ देखि रंगमञ्चमा उत्रिँदा सामाजिक मुद्दामा बेफिक्री थिए । आफ्नै लागि नाटक गर्नुपर्छ भन्ने सोच्थे ।

‘तर, बुझ्दै आउँदा समाजका लागि नाटक गर्नुपर्ने कुरा मनमा बलियो गरी स्थापित भयो’, उनले अनुभव सुनाए ।

***

निर्देशकका साथै नाटकका अधिकांश कलाकारलाई दोस्रो आन्दोलनको कुनै अनुभव छैन । सबै कलाकार पछिल्लो छिमलका छन् । यस्तो अवस्थामा त्यसबेलाको परिस्थितिलाई नाटकमा कसरी जीवन्त रुपमा ल्याउने भन्ने चुनौती थियो ।

त्यो चुनौती पनि नाटकका आन्दोलनकारीहरुले मिलेर सामना गरे ।

‘हामीले रिसर्च धेरै गर्‍यौं’, निर्देशक सुदामले सुनाए, ‘आन्दोलनमै सहभागी विद्यार्थी नेतादेखि अन्य अनुभवीहरुको अनुभव सुन्ने र छलफल गर्ने काम भयो ।’

यसका साथै त्यसबेलाका अखबारहरुमा १९ दिनका घटनाहरु केलाउने लगायतका अनुसन्धान कर्म पनि भए ।

नाटक मञ्चन अवधिभर काठमाडौं मलको सातौं तलामा रहेको थिएटर मल पूरै आन्दोलनमय हुनेछ । हलको बाहिरपट्टि आन्दोलनका बेलाका समाचार कटिङ, फोटो प्रदर्शनी र वृत्तचित्र देखाइनेछ । ती सबैलाई नाटककै अंग मानेर सबै कुराको संयोजनबाटै कुनै पनि आन्दोलन पूर्ण र सफल हुन्छ भनेर व्याख्या गरिएको छ ।

‘अरुका अनुभव र विवरण सुनेको आधारमा पूरै मुभमेन्ट मञ्चमा ल्याउन त कठिन होला’, सुदामले थप व्याख्या गरे, ‘फोटो र वृत्तचित्र हेरेर यतिसम्म भयो भने चाहिँ पूरा चित्र आउँछ होला भन्ने हिसाबले हामीले प्रस्तुत गर्न खोजेका छौं ।’

राजधानीमा सञ्चालित नाटकघरहरुको सातामा कुनै एकदिन बिदा हुने आ-आफ्नै नियम छ । थिएटर मल बुधबार बन्द हुन्छ । तर, आन्दोलन नाटकको क्रममा त्यो नियम लागू हुनेछैन । ०६२/६३ मा आन्दोलन निरन्तर १९ दिनसम्म चलेको सन्दर्भमा नाटक पनि लगातार १९ दिनसम्मै मञ्चन हुनेछ ।

नाटक हरेक दिन साँझ साढे ५ बजे र शनिबार दिउँसो साढे १ बजे पनि मञ्चन हुनेछ ।

आन्दोलनकारीहरु रियर राई, संयोग गुरागाईं, इँगिहोपो कोइँच सुनुवार, सिजन दाहाल, मिलन कार्की, सुदीप खतिवडा र विनीता गुरुङ आन्दोलनको मोर्चामा उत्रिसकेका छन् । उनीहरुले सामाजिक सरोकारका मुद्दामा मौन बनेका आवाजहरुलाई सजीव तुल्याउँदै छन् ।

आन्दोलन सफल भएर देश गणतन्त्रमा गइसक्दा पनि अझै धेरै कुरा मिल्न बाँकी नै छ । कागजको अधिकार हातमा पाउन नागरिक व्यग्र छन् । यस्तो अवस्थामा ‘आन्दोलन’ नाटकका निर्देशक र लेखक अझै पनि हरेक नागरिक हर समय सजग र सचेत हुनुपर्नेमा जोड दिन्छन् ।

‘अर्थात् हाम्रो आन्दोलन जारी छ !’ दुवैले एकै स्वरमा भने ।