धनुषामा महिलाको शव फेला, बलात्कारपछि हत्याको आशंका
२८ भदौ जनकपुरधाम । धनुषामा एक महिलाको शव फेलापरेको छ । मंगलबार बिहान सहिदनगर नगरपालिका–३, यदुकूहामा २६ वर्षीया बबित्या दासको शव फेलापरेको हो ।
बाँसको झाडीमा हत्या गरी फालिएको अवस्थामा अरुण दासकी श्रीमती बबित्या देवीको शव फेलापारेको धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप क्षेत्रीले जानकारी दिए ।
शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरी फालेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । शव अर्धनग्न अवस्थामा फेलापरेको थियो । शरीरमा चोटपटकको डाम भने नदेखिएको डीएसपी क्षेत्रीले बताए ।
यदुकूहाको बजारटोलमा इन्द्रजात्राका अवसरमा मेला लागेको थियो । उनी गएको आइतबार साँझ ६/७ बजेतिर मेला हेर्न घरबाट निस्केको बताइएको छ । मेला हेर्न गएकी उनी घर नफर्किएपछि परिवारले खोज्न सुरु गरेको थियो । मृतक महिलाकी तीन वर्षीया छोरी छिन् । उनको श्रीमान् अरुण चार वर्षदेखि वैदेशिक रोजगारमा छन् ।