चिङकाङसान बारे : लेखनाथ न्यौपाने
३१ असोज काठमाडौं। चिङकाङसानबारे :
(क) पार्टी अध्यक्ष प्रचण्डले गोरखामा कार्यकर्ताविचमा बोल्ने क्रममा माओ जसरी चिङकाङसान फर्किएका थिए, त्यसरी नै आफू पनि चिङकाङसान आएको कुरा गर्नुभएपछि धेरै साथीहरुले के हो चिङकाङसान र त्यहाँ के भएको थियो ? भनेर सोध्नु भयो । त्यसकारण यो प्रसङ्ग यहाँ प्रस्तुत गरिको हो ।
(ख) १९२७ सेप्टेम्बर ९ मा हुनानको चिङकाङसानमा माओले शरदे बाली विद्रोहको नेतृत्व गर्नुभयो । यसका उद्देश्यहरू निम्नानुसार थिए–
१. प्रान्तीय पार्टीलाई क्वोमिन्ताङ (चियाङ काई सेक नेतृत्वको चिनियाँ राष्ट्रवादी पार्टी, जुन पार्टी जापानविरोधी गृहयुद्धमा जापानको पक्ष र चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वको प्रतिरोध युद्धविरुद्ध लाग्यो ।
चीनमा जनवादी क्रान्ति सम्पन्न भएपछि ऊ भागेर ताइवान पुग्यो । आज अमेरिकाको समर्थनमा ताइवान चीनभन्दा भिन्दै स्वतन्त्र राज्य हो भनेर त्यही पार्टीको नेतृत्वमा सरकार छ ) बाट पूरै अलग्याउनु ।
२. किसान–मजदुर क्रान्तिकारी सेनाको गठन गर्नु ।
३. मझौला तथा ठूला जमिन्दारका सम्पत्ति जफत गर्नु ।
४. हुनानमा क्वोमिन्ताङबाट स्वतन्त्र रहेको कम्युनिस्ट पार्टीको सत्ता खडा गर्नु ।
५.सोभियतहरूको गठन गर्नु ।
(ग) सन् १९५६ मा चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशन सम्पन्न भयो । यसमा ल्यू शाओ चीको ‘चीनको तात्कालीन प्रधान अन्तरविरोध जनताको बढ्दो आवश्यकता र उत्पादक शक्तिका बीचको हो’ भन्ने कार्यदिशा पास भयो । यसको अर्थ पूँजीवादको विकास गर्नुपर्छ भन्ने हुन्थ्यो र यो धारणा उत्पादनका साधानमाथि समाजवादीकरणका विरुद्ध थियो । जुन बर्नस्टीन, काउत्स्की, बुखारिन जस्ता संशोधनवादीहरुले समातेको पुरानो र बदनाम बाटो थियो ।
चीनमा स्थापित समाजवादी सत्ताको नेतृत्व गरिरहेको चिनियाँ कम्युनिस्ट पार्टीभित्र दक्षिणपन्थी हावा चल्न थालेपछि वा वाम गल्ती सुधार्ने नाममा दक्षिण झुकाव प्रष्टसँग देखापरेपछि माओ पार्टीभित्रको दक्षिणपन्थी तप्कालाई दबाब दिने उद्देश्यले पुरानो क्रान्तिकारी आधार इलाका चिङकाङसान पुगेका थिए । माओ चिङकाङसान जानु एक हिसाबले सर्वहारा साँस्कृतिक क्रान्ति (सन् १९६६–१९७६) को पूर्वतयारी जस्तो भयो ।