‘स्थिर समय’मा प्रचारप्रसार गरे कारबाही : आयोग


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक २९ २०७९
2.3K
SHARES

२९ कात्तिक काठमाडौं । निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टाअघिदेखि निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ ।

निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ अनुसार मतदान हुनुभन्दा ४८ घण्टाअघि निर्वाचन प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न नपाइने भन्दै उमेदवार र कार्यकर्तालाई यसबारेमा पुनः सचेत गराइएको हो ।मंगलबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले मतदानअघिका ४८ घण्टामा निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै पनि कार्यक्रम गर्न नपाइने बताए । उनले विगतमा आयोगले मौन अवधि तोक्ने गरेको तर योपटक मौन अवधि नरहेकाले र सो समयलाई ‘स्थिर समय’का रूपमा प्रयोग गर्नुपर्ने उल्लेख गरे ।

उनले आउँदो मंसिर १ गते राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसारसम्बन्धी सम्पूर्ण कामहरू निषेध हुने जानकारी दिए । सो अवधिमा निर्वाचनसम्बन्धी प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही गरिने चेतावनी उनले दिए ।प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन मंसिर ४ गते एकै चरणमा हुँदै छ । निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।