पर्यटक भिसाको दुरुपयोग बढ्यो


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस २८ २०७९
2.6K
SHARES

२८ पुस काठमाडौँ ।नियमन र कारबाहीको संयन्त्र चुस्त नहुँदा पर्यटकका रूपमा नेपाल आउने विदेशी नागरिकले भिसाको दुरुपयोग गर्ने प्रवृत्ति बढेको छ । पछिल्ला ६ वर्षमा यस्ता गतिविधिमा संलग्न तीन हजार २८ विदेशीलाई नेपालबाट निष्कासन गरिएको छ । निष्कासित हुनेमा ८५ प्रतिशत ओभर स्टेसम्बन्धी कसुरका छन् । सन् २०२२ मा मात्रै पाँच सय ५८ विदेशी निष्कासनमा परेका छन् ।

अध्यागमन विभागका अनुसार सन् २०२१ मा दुई सय १८ र २०२० मा तीन सय ३२ विदेशीलाई निष्कासित गरिएको थियो । २०२० मा नेपालमा गोप्य रूपमा इन्टरनेटमार्फत जुवालगायत अपराधमा संलग्न एक सय २२ जना चिनियाँलाई एकैपटक पक्राउ गरी निष्कासन गरिएको थियो । चीनले प्लेन नै चार्टर गरेर उनीहरूलाई लगेको थियो । त्यस्तै, सन् २०१९ मा ६ सय ६८ जना, २०१८ मा ६ सय ९२ जना र २०१७ मा पाँच सय ६० जना निष्कासनमा परेका थिए ।

मुख्यगरी ‘ओभर स्टे’सम्बन्धी अध्यागमन कसुरमा धेरै निष्कासनमा परेको अध्यागमन विभागका प्रवक्ता कमलप्रसाद पाण्डेले बताए । नेपालमा अमेरिकीबाहेकका नागरिकले पर्यटक भिसामा एक वर्षमा एक सय ५० दिनसम्म मात्र बस्न पाउँछन् । केही विदेशीले त्यसभन्दा लामो समय बसेर अध्यागमन कानुन मिच्ने गरेका छन् । लामो समय बस्नेहरू घुम्नभन्दा गैरकानुनी रूपमा विभिन्न संघसंस्थामा आबद्ध भएर काम गर्ने तथा आपराधिक गतिविधिमा समेत संलग्न हुने गरेका छन् ।

राज्यको ‘पर्यटकमैत्री नीति’का कारण अवैध बस्नेहरूलाई पनि सामान्य जरिवाना गरेर निष्कासन गरिन्छ । एक सय ५० दिनभन्दा धेरै बस्नेलाई दिनको आठ अमेरिकी डलरका दरले जरिवाना हुने गरेको छ । एक वर्षसम्म यसरी बस्नेहरूलाई एक भिसा वर्षसम्म आउन नपाउने गरी निष्कासन हुने गरेको छ । सन् २०२२ मा निष्कासनमा परेका व्यक्ति २०२३ मा आउन पाउँछन् ।