माओवादी पृष्ठभूमिका नेताहरू के एमालेमा असन्तुष्ट छन् ?


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र २७ २०७९
5.2K
SHARES

२७ चैत काठमाडौं । नेकपा माओवादी केन्द्रमा हुँदा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपछि शक्तिशाली नेता मानिन्थे, रामबहादुर थापा बादल। तर, एमाले र माओवादीबीच एकता भएर बनेको नेकपा भंग भएपछि एमाले रोजेका बादल अहिले राष्ट्रिय राजनीतिमा चर्चाको पात्र बन्न सकेका छैनन्, अर्थात् गुमनाम छन् ।

एमालेको १०औं महाधिवेशनबाट पार्टीमा तेस्रो वरियताको उपाध्यक्ष बनेका बादल अहिले पार्टीको बैठकमा उपस्थित हुनबाहेक अन्य सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।
गत मंसिरमा भएको निर्वाचनमा पनि उनले उम्मेदवार बन्न अस्वीकार गरे । अहिले एमालेले देशव्यापी रुपमा मिसन ग्रासरुट अभियान चलाए पनि उनी कुनै कार्यक्रममा सहभागी भएका छैनन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अन्य शीर्ष नेताहरु पार्टीको कार्यक्रममा व्यस्त भए पनि उनलाई पार्टी नेताहरुको दौडधुपले छोएको छैन । चुनावमा पार्टीले दिएको टिकट अस्वीकार गरेका बादल एमालेको चुनावीसभामा पनि देखिएनन् ।यद्यपि उनकी श्रीमती नैनकला थापा भने समानुपातिक सांसद बनेकी छन् । उनीमाथि श्रीमतीलाई सांसद बनाएको आरोप पनि लाग्यो ।

बादलसहित पूर्वमाओवादी पृष्ठभूमिका नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापालगायत नेताहरु एमालेमा छन् । महाधिवेशनबाट भट्ट र रायमाझीले सचिव र थापाले स्थायी कमिटीको जिम्मेवारी पाएका छन् । त्यसमध्ये ओलीले भट्टलाई च्यापेको देखिन्छ ।

भीम रावल आफूविरुद्ध लागेपछि सुदूरपश्चिममा पार्टीलाई बलियो बनाउन नै ओलीले भट्टलाई प्रदेश इञ्जार्जको जिम्मेवारी दिएको बताइन्छ । माओवादीमै हुँदादेखि नै भट्ट सुदूरपश्चिममा बलियो पकड राख्ने नेतामा पर्छन् ।

के एमालेमा असन्तुष्ट छन् पूर्वमाओवादीहरु ?

बादल र थापाबाहेक रायमाझी र भट्ट पछिल्लो समय पार्टीको कार्यक्रममा पनि सक्रिय देखिन्छन् । प्रतिनिधि सभामा पूर्व माओवादीबाट ९ जना नेताले टिकट पाएकोमा टोपवहादुर रायमाझी र ज्वाला कुमारी साह निर्वाचित भएका छन् । प्रदेशमा भने यो संख्या धेरै छ । टिकट पाएका प्रभु साहले आफ्नै समूह बनाएर स्वतन्त्र चुनाव लडे र जिते पनि ।

नेताहरुले पार्टीमा आफूहरुलाई उचित जिम्मेवारी नदिएको गुनासो आन्तरिक रुपमा राख्न थालेको चर्चा छ । जुन कुरा माओवादी पृष्ठभूमिका एमाले नेता मणि थापाको पछिल्लो अभिव्यक्तिले पनि पुष्टि गर्छ ।

गतसाता उनले नेपाल प्रेससँग भनेका थिए, ‘माओवादी छाडेको पछुतो मलाई छैन । तर, हामी नयाँ एमाले बनाउन गएका हौं । मैले स्थायी समितिमा भनेको छु, पुरानो एमालेको भूत जाग्यो । केपी ओलीभन्दा डेमोक्रेट प्रचण्ड हुनुहुन्छ कुरा सुन्ने मामिलामा । तर, कार्यान्वयन गर्ने कुरा एउटै हो । प्रचण्डले कमसेकम सुन्छन्, केपी ओली कमरेड सुन्नुहुन्न ।’

अब आफूहरुको एमालेभित्रै रहेर संघर्ष गर्नेबाहेक अर्को विकल्प नभएको उनको बुझाइ छ । ‘म अहिले एमाले छोड्ने कुरामा छैन । हामी प्रचण्डसँग फर्किँदैनौं । समग्र समाजवादी केन्द्रको कुरा आयो भने एउटा कुरा भयो’, उनको भनाइ थियो ।

१२बुँदेहरूले जनयुद्धलाई विरोध गर्न नमिल्ने भन्दै नेकपाको दस्तावेजमा माओवादी जनयुद्धले गणतन्त्र ल्याउन मुख्य भूमिका खेलेको भनेकाले आफूहरुले एमाले नेतृत्व स्वीकारेको उनको भनाइ छ । नेकपा भंग भएताका ओलीले माओवादी नेताहरुलाई फकाउनकै लागि एमाले नै नेकपाको निरन्तरता भएको व्याख्या गरेका थिए ।