सत्ता गठबन्धनभित्रै अर्को गठबन्धन !
२८ चैत काठमाडौ । संघ र प्रदेशको निर्वाचनपछि पुस १० गते नेकपा एमाले–माओवादी केन्द्रसहितको गठबन्धन भत्किएपछि माओवादी–कांग्रेससहितको गठबन्धन बन्यो । राष्ट्रपति निर्वाचनका सन्दर्भमा बनेको नयाँ गठबन्धन सरकारमा सहभागी हुँदा एमाले प्रतिपक्षी दल बनेको अवस्था छ । आगामी बैशाख १० गते तीन क्षेत्रको उपनिर्वाचन हुँदै गर्दा प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिँदा बनेको १० दलीय गठबन्धनभित्र अर्को गठबन्धन बनेको छ भने सरकारका यहि गठबन्धनभित्र पनि चार दलको छुट्टै गठबन्धन बनेको छ ।
स्थानीय तह तथा संघ र प्रदेशको निर्वाचनमा बनेको चुनावी गठबन्धन पुस १० मा भत्किएर नेकपा एमाले र माओवादीसहितको नयाँ गठबन्धन बनेको थियो । सरकार सञ्चालनका लागि बनेको यो गठबन्धन भने दुई महिनापछि फागुन १२ गते भत्कियो । प्रधानमन्त्री बन्न बालकोटमा बनाएको गठबन्धन भत्काएर माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेससहितका दलहरुको नयाँ गठबन्धन बनाए । नयाँ गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, रास्वपा, जनमत, नागरिक उन्मुक्ति लगायतका १० दल समेटिए ।
प्रधानमन्त्री प्रचण्डले सत्ता समीकरण बदलेपछि कांग्रेस, नेकपा एस, जसपा, लोसपा, नागरिक उन्मुक्ति लगायतका दलहरुलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरे । प्रधानमन्त्री प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरे पनि गठबन्धन दलभित्रैको किचलोका कारण सरकारले पूर्णता पाउन सकेन । यहिबीचमा प्रतिनिधिसभामा रिक्त रहेको ३ स्थानमा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै गर्दा सत्ता गठबन्धनभित्र अर्को गठबन्धन बनेको छ । १० दलीय सत्ता गठबन्धनभित्र कांग्रेस, माओवादी, नेकपा एस, जसपा र लोसपाको छुट्टै गठबन्धन बनेको छ । उपनिर्वाचन हुन लागेको तीन क्षेत्र मध्ये चितवन २ र तनहुँ १ मा कांग्रेस र बारा २ मा जसपाको उम्मेदवारलाई पाँचै दलले समर्थन जनाएका छन् ।
सत्ता गठबन्धभित्रका अन्य दलहरुले भने तीन वटै क्षेत्रको उपनिर्वाचनमा छुट्टाछुट्टै उम्मेदवार खडा गरेका छन् । उपनिर्वाचनका सन्दर्भमा मात्र नभई सरकारको साझा नीति तथा कार्यक्रममा पनि यिनै पाँच दलको मात्रै सहमति जुट्यो । १० दलीय गठबन्धनभित्रको पाँच गठबन्धन बन्दै गर्दा सत्तामा बलियो उपस्थिति जनाउन माओवादी, नेकपा एस, जसपा, नेपाल समाजवादी पार्टी (नेसपा)को अर्को गठबन्धन क्रियाशील छ । सरकारमा कांग्रेसको दाउपेचलाई रोक्न बनेको यो अघोषित गठबन्धनलाई समाजवादी मोर्चा बनाउने रणनीतिमा प्रधानमन्त्री छन् । सत्ताभित्रको यो शक्ति संघर्षले भावी सत्ता राजनीतिलाई कतातिर लैजान्छ भन्न कठिन छ ।