देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरौं – राष्ट्रपति
१ वैशाख काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २०८० सालमा राष्ट्रका अपार स्रोत सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहन आग्रह गरेका छन् ।
साथै उनले संवैधानिक कर्तव्य र जिम्मेवारी पूरा गर्दा होस् वा जुनसुकै कार्य पनि लोकतान्त्रिक मूल्य, मान्यता र परम्परालाई आत्मसात् गरेमात्र मुलुकमा शान्ति, विकास र समृद्धि कायम भई हामी समाजवादतर्फ उन्मुख हुने उल्लेख गरेका छन् । ।
शुभकामना सन्देशमा भनेका छन्,‘आर्थिक रूपमा देश सबल र सक्षम हुनुपर्दछ भन्ने मान्यता हामी सबैको हो । तर, केही समययता बाह्य एवं आन्तरिक कारणहरूले अर्थतन्त्रमा परेको प्रतिकूल असर र जनतालाई यसले पारेको नकारात्मक प्रभावबाट जतिसक्दो छिटो मुलुकले निकास पाउनु पर्दछ ।सबै कठिन परिवेशमाझ हरेक प्रकारले सजग रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूको सहयोग र सद्भाव लिई हाम्रा कदमहरू अगाडि बढ्ने कुरामा म विश्वस्त छु ।हामी माझ व्याप्त नैराश्यतालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरौं । श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरौं र राष्ट्रका अपार स्रोत सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौं ।’