रविप्रति बाबुरामको कटाक्ष– सिद्धान्तबिनाको चटके
९ वैशाख काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश गम्भीर ढंगले प्रतिगमनतिर गइरहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५औँ वर्षगाँठको अवसरमा शनिबार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले वैचारिक ढंगले अग्रगामी सोचका विरुद्धमा प्रतिगमनकारी हावा बगिरहेको जिकिर गरे । पछिल्लो अवस्थामा यो डरलाग्दो बनेर देखिएको उनको भनाइ छ ।
देशभित्र विभिन्न ढंगले चर्चाका आधारमा मात्र नयाँ शक्तिहरूको उदय हुनु राम्रो संकेत नरहेको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका सभापति रवि लामिछानेप्रति इंगित गर्दै उनले विचारधारा र सिद्धान्त नभएका मान्छे राजनीतिमा आइरहेको आरोप लगाए ।
सभापति लामिछानेले रातारात जादु गर्छु जस्तो गरी अभिव्यक्ति दिइरहेको भन्दै उनले ‘चटके मानिस’का बारेमा समाजले बेलैमा बुझ्न जरुरी रहेकामा जोड दिए । नयाँ पार्टीहरूले ठूलो प्रतिक्रान्तिको आधार तयार पारिरहेको उनले बताए ।
“यो संविधान र हाम्रो लोकतन्त्र आधा गिलास भरिएको, आधा गिलास खाली हो । अब हामीले गर्ने के हो भने यो आधा गिलासलाई जोगाउने हो । अब आधा गिलास पनि रिस उठेर घोप्ट्याउँछु भन्न थाल्नुभयो भने हेर्नुहोला, के भइरहेको छ अहिले । पुराना शक्तिले त गरी खाँदै खाँदैनन् । हाम्रै पनि एउटा ठूलो क्रान्तिकारी पंक्ति सत्तामा गइसकेपछि भ्रष्टीकरण भइसकेको छ । हामी केही मान्छे बल्लतल्ल बच्ने कोसिस गरिरहेका छौँ,” उनले भने, “देश गम्भीर ढंगले प्रतिगमनतिर जाँदै छ । दक्षिणतिर हेर्नुहोस्, जुन हावा बगिरहेको छ, बडो डरलाग्दो प्रतिगामी हावा बगिरहेको छ । झट्ट हेर्दा त नदेखिन सक्छ । तर, वैचारिक ढंगले अग्रगामी सोचका विरुद्धमा हावा बगिरहेको छ, विस्तारै यहाँ पनि छिर्दै छ । त्यो बहुत डरलाग्दो छ । यो देशभित्र पनि विभिन्न ढंगले शक्तिहरूको जुन उदय भइरहेको छ, त्यो एउटा पपुलिजमको रूपमा । कुनै विचारधारा छैन, सिद्धान्त छैन, यत्रा गम्भीर समस्याहरू छन्, त्यसको कुनै विश्लेषण छैन । तर, त्यत्तिकै म आएपछि चकाचक गरिदिन्छु, भनेर मान्छे आएर उफ्रिन्छ, गरिब जनता, विदेशतिर पलायन भएका जनता त्यसलाई नै ताली पिट्छन् ? के त्यो जादुगर हो ? यस्ता चटके, जसको सिद्धान्त कुनै छैन, तर जनतामा असन्तुष्टि देखाउन नेतालाई गाली गर्ने, सबैलाई गाली गर्ने, प्रतिशोध राख्न खोज्ने र म आएपछि ठिक गर्दिन्छु भन्नेछन् । यसले ठूलो प्रतिक्रान्तिको आधार तयार गर्दै छ । त्यसैले बेलैमा सबै आरोप–प्रत्यारोपमा भन्दा छलफल गरौँ ।”