प्रधानमन्त्रीको निर्देशन : नेपालमा उत्पादित सवारी साधन दर्ताको व्यवस्था गर्नु


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख १० २०८०
2.1K
SHARES

१० वैशाख काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि आवश्यक कानुनी प्रबन्ध मिलाउन मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिएका छन् । आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव शंकरदास बैरागीलाई कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका हुन् ।

‘नेपालमा बनेका सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएकाले नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धी कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिनुभएको हो,’ प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले भने । ‘यात्री’ लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भई काम गर्न नपाएका समाचार सार्वजनिक भएका थिए । प्रधानमन्त्रीको निर्देशनलगत्तै मुख्य सचिवले बैरागीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारी साधनको दर्ता एवं प्रवर्द्धन सम्बन्धी कानुनको मस्यौदा बनाई पेश गर्न निर्देशन दिएको पनि शर्माले बताए ।