गण्डकीमा विश्वासको मत लिने तयारी
१७ बैशाख पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने तयारी थालेका छन् । गएको बिहीबार नियुक्त भई शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका पाण्डेले हप्ता दिनभित्रै विश्वासको मत लिने बताएका छन् ।
गण्डकीमा हाल प्रदेशसभा बैठक स्थगित छ । निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारले अघिल्लोे शनिबारदेखि प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । सोही दिन अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाएका थिएनन् ।
विश्वासको मत नपााएपछि सरकारले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेका हुन् । अब प्रदेशको नयाँ मन्त्रिपरिषद्ले अर्को अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नेछ । अहिले गण्डकीमा पाण्डे मुख्यमन्त्रीसहित सरस्वती अर्याल तिवारी र सुशीला सिंखडा बिनाविभागीय मन्त्री छन् । एकदुई दिनभित्रै मन्त्रिपरिषद्को बैठक बस्ने र प्र्रदेशसभा अधिवेशन आह्वानको निर्णय हुने मुख्यमन्त्री पाण्डेले बताए ।
शुक्रबार शपथ लिएसँगै उनले एक हप्ताभित्रै मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । तर, मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । “विश्वासको मत लिएपछि हुन्छ । सदन खुलाउने बारेमा सल्लाह भइरहेको छ, एक हप्ताभित्रमा हुन्छ होला,” उनले भने, “मन्त्रिपरिषद् बैठक बसेर सदन आह्वान गर्छौँ ।”
दर्जन बढी आकांक्षी, मन्त्री बन्न काठमाडौंमा दौडधुप
मुख्यमन्त्रीसँगै शपथ लिएका दुई मन्त्रीमध्ये तिवारी नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य हुन् । सिंखडालाई नेकपा (माओवादी केन्द्र)ले सरकारमा पठाएको हो ।
गण्डकीको मन्त्रिपरिषद् बढीमा सात सदस्यीय हुनेछ । मन्त्रालय नथप्ने मुख्यमन्त्रीले घोषणा गरिसकेका छन् । त्यसानुसार अब चार मन्त्री थपिनेछन् ।
पाण्डेलाई सरकारमा कांग्रेसका २७, माओवादी केन्द्रका सात (सभामुखबाहेक) र स्वतन्त्र निर्वाचित (पछि नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका) राजीव गुरुङ (दीपक मनाङे)ले समर्थन गरेका छन् । सत्ता गठबन्धनमा आबद्ध यी तीन दललाई सरकारमा सामेल गराउनुपर्ने चुनौती पाण्डेसामु छ । त्यसमध्ये सबैभन्दा बढी आकांक्षी कांग्रेसमै छन् ।
अधिकारी नेतृत्वको पूर्ववर्ती सरकारमा माओवादीले दुई मन्त्रालय पाएको थियो । अहिले माओवादीले तीन मन्त्रालय दाबी गरिरहेको छ । मनाङे पनि मन्त्री बन्नका लागि शीर्ष नेताबाट पाण्डेलाई फोन गराउने, दबाब दिने रणनीतिमा छन् ।
कांग्रेसले माओवादीलाई अघिल्लै सरकारमा लिएका दुई मन्त्रालय लिन आग्रह गरिरहेको छ । तर, माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलका नेता हरिबहादुर चुमानले तीन मन्त्रालय चाहिने, आलोपालोमा कति समय पाण्डे मुख्यमन्त्री बन्ने भन्नेलगायत विषयमा लिखित सहमति खोजिरहेका छन् । यही किचलोका कारण समस्या हुने ठानेरै पाण्डेले पहिला विश्वासको मत लिने रणनीति अपनाएको बुझिन्छ ।
मन्त्री बन्ने आकांक्षाबीच सांसदहरूले काठमाडौंमा दौडधुप तीव्र बनाएका छन् । मुख्यमन्त्री पाण्डेसँगै मन्त्रीको शपथ लिने इच्छा असफल भएपछि कांग्रेस सांसदहरू शीर्ष नेता भेट्न शनिबार काठमाडौं पुगेका छन् । कास्कीका विन्दुकुमार थापा, बागलुङका जीत शेरचन काठमाडौं गएका हुन् । अरू नेताले फोनबाटै शीर्ष नेताहरूसित सम्पर्क गरिरहेका छन् ।
कास्कीका थापालाई यसअगाडि नै कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्री बनाउने वचन दिएका थिए । तर, चर्को राजनीतिक खिचातानीका कारण शुक्रबार थापाले शपथ लिन पाएनन् । उनलाई रोक्न कास्कीकै सरस्वती गुरुङ, प्रकाश बराल, लमजुङका टकराज गुरुङलगायत सांसदहरू लागिपरेका छन् ।
संस्थापन समूहकी अर्याल मन्त्री बनिसकेकाले पाण्डेसँग संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका भोजराज अर्यालको ‘च्याप्टर क्लोज’ भएको छ । अब इतरसमूहबाट नवलपुरका महेन्द्रध्वज जिसीको सम्भावना बढेर गएको छ ।
जिसी मन्त्री बनेको खण्डमा बागलुङका डिल्लीराम सुवेदी, जीत शेरचन, चम्पादेवी खड्का र पर्वतकी रेखा गुरुङमध्ये एकजना मन्त्री बन्ने सम्भावना छ ।
माओवादी केन्द्रबाट डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाको सम्भावना छ । गोरखाका देवकोटाले माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेका थिए ।
माओवादीबाटै सरकारमा सहभागी सिंखडा पनि गोरखाकै हुन् । सोही कारण देवकोटाको सट्टा म्याग्दीका रेशम जुग्जाली मन्त्री बन्ने सम्भावना पनि उत्तिकै छ । जुग्जाली अघिल्लो सरकारमा समेत मन्त्री थिए ।