हाम्रो पार्टीलाई सरकारबाट हटाइएपछि सामाजिक सुरक्षातर्फको पाइलामा अवरोध पुग्यो – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १८ २०८०
2K
SHARES

१८  बैशाख काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सरकारबाट हटाइएपछि सामाजिक सुरक्षातर्फको पाइलामा अवरोध पुगेको बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले आर्थिक विकास र सुनिश्चित श्रमजीवन निर्माणको यात्रा रोकिएको उल्लेख गरेका छन् । “नेकपा (एमाले)लाई सरकारबाट हटाइएपछि सम्मानित, सुरक्षित श्रमजीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फका पाइलामा अवरोध पुग्यो ।

सामाजिक परिवर्तन, आर्थिक विकास र सुनिश्चित श्रमजीवन निर्माणको यात्रा अवरुद्ध हुन पुग्यो,” ओलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “नेकपा (एमाले)लाई बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित गरेर मात्र हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सक्छौँ र रोकिएका समृद्धिका हाम्रा पाइलाहरुलाई अघि बढाउन सक्छौँ । नेकपा (एमाले)को यस अभियानमा सबैको साथ र ऐक्यबद्धता रहनेछ भन्ने मेरो विश्वास छ ।” ओलीले आफ्नो पार्टीको अगुवाइमा श्रमिकको अधिकार संविधानमा सुनिश्चित भएको जिकिर गरेका छन् ।