घमण्ड छाड्नुस्, मोर्चा हावा खान सक्छ – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २० २०८०
2.4K
SHARES

२० वैशाख काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कर्णाली प्रदेशमा सरकारमा पार्टीलाई बेवास्ता गरिएको भन्दै आपत्ति जनाएका छन् ।  बुधबार  वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीले एकलौटी गरेकोमा चित्त दुखेको बताए ।  “कर्णाली प्रदेश सरकारको निर्माण गर्दा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ । यस्तो कार्यप्रति हामी अत्यन्त धैरै दुःखी पनि छौँ,” उनले भने – “यस्ता कार्यको आलोचना मात्रै होइन, निन्दा पनि गर्न मन लाग्छ । म माओवादी पार्टी, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेतालाई भन्न चाहन्छु, तपाईंहरूले एकलौटी गर्नुभएको छ हामीलाई स्वीकार्य छैन ।”

उनले यस्तै व्यवहार हुर्कँदै गए गठबन्धन टिक्छ कि टिक्दैन भन्ने प्रश्न उठ्ने बताए । आफूहरूमाथिको व्यवहार पीडा दिने खालको भइरहेको बताए ।  नेपालले दम्भ  र घमण्डले रावण जन्माउने बताए । उनले प्रधानमन्त्री प्रचण्डलाई दम्भ नदेखाउन चेतावनी दिए ।  “दम्भ घमण्डले रावण जन्मायो । दम्भ र घमण्डले अर्को रावण नजन्माओस् । घमण्ड छोड्नुस् । समानताको व्यवहार गर्नुस् । मिलेर अघि बढ्नुुस्,” उनले भने ।  उनले पहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले, पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दम्भ देखाएको बताए ।  त्यसपछि फेरि ओलीले घमण्ड गर्दा सत्यनाश भएको बताए ।  “अब घमण्ड गर्ने पालो कसको छ, हेर्न बाँकी छ,”उनले भने, “कम्युनिस्ट पार्टीको एकताको कुरा गर्दै आएका छौं । यस्ता प्रवृत्ति कायम रहे मोर्चा, सोर्चा हावा खान्छ ।”