नेकपा एमालेले छोराछोरी अभियान चलाउने


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख ३० २०८०
2.7K
SHARES

३० वैशाख काठमाडौ ।नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकले छोराछोरी अभियान चलाउने भएको छ।बिहीबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठक शनिबार सकिएको छ। उक्त बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टीमा युवाको आकर्षण कमजोर बनेको निष्कर्ष सुनाएका थिए।

कतिपय केन्द्रीय सदस्यले छोराछोरीलाई समेत सम्झाउन नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता नवोदित पार्टीमा मत गएको बताएका थिए। त्यसैलाई लक्षित गरेर एमालेले छोराछोरी अभियान सुरू गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

‘पार्टीमा युवा पुस्ताको आकर्षण बढाउन, बाबुआमा एमालेमा प्रतिबद्ध हुने, छोराछोरीले कम्युनिष्ट पार्टी के हो नबुझ्ने अवस्था नहोस् भनेर छोराछोरी अभियान चलाउन लागिएको हो,’ उनले भने।

यो अभियानअन्तर्गत पार्टीका नेता, कार्यकर्ता र सदस्यका छोराछोरीलाई पार्टीमा जोड्ने, त्यसका लागि राजनीतिक, वैचारिक प्रशिक्षण चलाइने रिजालले जानकारी दिए।

यस्तै मिसन ग्रासरूटकै भूगोलमा खटाउने गरी पाँचौं केन्द्रीय कमिटीको बैठक सकेको हो। एमालेले यसअघि फागुनको पहिलो हप्तादेखि वैशाखसम्म मिसन ग्रासरूट अभियान चलाएको थियो।

पार्टी गतिविधिलाई थप रचनात्मक, सिर्जनात्मक बनाउने र मातहतका कमिटीको अधिवेशन गराउँदै एमालेलाई क्रियाशील बनाउन अहिले खटिएकै भूगोलमा पठाउन लागिएको उपमहासचिव पृथ्वी सुब्बा गुरूङले जानकारी दिए।

‘मिसन ग्रासरूट अभियानले संगठनलाई क्रियाशील बनाउन भूमिका खेलेको र फरक जिल्लामा गएर काम गर्दा प्रभावकारिता बढेको अनुभूतिका साथ थप एक वर्ष त्यसरी अर्को भूगोलमा खटाउन लागिएको हो,’ उनले भने।