भ्रष्टाचार गरेर करोडौंका घर-घडेरी जोड्दै कर्मचारी
१६ साउन काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अबधिमा साढे ३ सय बढी सरकारी कर्मचारी विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले गत आर्थिक वर्ष २०७९/०८० मा ३ सय ५६ जना राष्ट्रसेवक कर्मचारी विरुद्ध भ्रष्टाचारका मुद्दा दर्ता गरेको हो । नेपाल सरकारका सचिव टेकनारायण पाण्डे (विशिष्ट श्रेणीका) सहित ३ सय ५५ जना राष्ट्रसेवक कर्मचारी विरुद्ध मुद्दा दर्ता गरेको हो । यस्तै, एक वर्षको अबधिमा १७८ जना बिचौलिया/मतियार र २ सय २६ जना निर्वाचित मनोनित पदाधिकारीहरु विरुद्ध मुद्दा दर्ता भएका छन् । आयोगले एक अर्ब ७७ करोड ५८ लाख ४५ हजार ४३७ रुपैयाँ बिगो माग दाबी सहित १ सय ६२ वटा मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनका अनुसार उक्त मुद्दामा ७ सय ६० जनालाई प्रतिवादी बनाइएको छ । गत आर्थिक वर्ष आयोगमा गैरकानुनी लाभहानीका ६४ वटा मुद्दा दर्ता भएका थिए । उक्त मुद्दामा ४ सय ४२ जनालाई प्रतिवादी बनाइएको थियो । यस्तै, घुसका ३२ मुद्दामा ४६ जना प्रतिवादी, सार्वजनिक सम्पत्तिको हानिनोक्सानीसम्बन्धी २७ मुद्दामा १ सय ५०, गैरकानुनी सम्पत्ति आर्जनका १३ मुद्दामा २९ जना, नक्कली शैक्षिक प्रमाणपत्रका ८ मुद्दामा ८ जना, राजस्व हिनामिनाका ७ मुद्दामा ४६ जना र विविधका ११ मुद्दामा ३९ जनालाई प्रतिवादी बनाईएको छ ।
तीन वर्षकै धेरै मुद्दा
आयोगको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा तीन आर्थिक वर्ष यताकै बढी मुद्दा दर्ता भएका हुन् ।तथ्यांक अनुसार अघिल्लो आव ०७८/७९ मा एक सय ३१ मुद्दा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २१ वटा बढी मुद्दा दर्ता भएका हुन ।
यस्तैगरी, आर्थिक वर्ष २०७७/०७८ मा एक सय १० वटा मुद्दा दर्ता भएका थिए । त्यसअघि ०७६/७७ मा हालसम्मकै सबैभन्दा धेरै अर्थात ४ सय ४० वटा मुद्दा दर्ता भएका थिए ।
स्टीङ अपरेशनमा ४० सरकारी कर्मचारी
आयोगले एक वर्षको अबधिमा ४० जना सरकारी कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ । एक वर्षको अबधिमा विभागले गरेको ‘स्टिङ अपरेसन’ मा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा विभागले पक्राउ गरेको हो ।गत आवमा अख्तियारले ३७ वटा ‘स्टिङ अपरेसन’ (रंगेहात पक्राउ) गरेको छ । जसमा ४० जना राष्ट्रसेवक कर्मचारी, ६ जना बिचौलिया/मतियार र आठजना निर्वाचित/मनोनीत पदाधिकारी छन् ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा अख्तियारले २५ वटा स्टिङ अपरेसन गरेको थियो भने ०७७/७८ मा ६४ वटा थिए । आयोगले एक वर्षको अबधिमा विशेष अदालतबाट ३ सय ४१ वटा फैसला प्राप्त गरेकोमा आंशिक ठहर र सफाई पाएका मुद्दामध्ये २ सय ३७ मुद्दामा आयोगले पुनरावेदन गरेको छ ।
आघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा आयोगले ५७ वटा मुद्दाहरुमा पुनरावेदन गराएको थियो । गत आर्थिक वर्ष २०७९/०८० मा आयोगमा विभिन्न माध्यमबाट प्राप्त २० हजार ३६८ तथा अघिल्लो आर्थिक वर्षवाट जिम्मेवारी सरेर आएका ७ हजार १६२ गरी कुल २७ हजार ५३० उजुरीहरु मुद्दा रहेका थिए । उक्त मुद्दामध्ये विभागले ६६ दशमलव २७ प्रतिशत अर्थात १८ हजार २४५ उजुरी फछ्र्याैट गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनका अनुसार छाटो समयमा अथाह सम्पत्ति जोड्नका लागि कर्मचारीहरुले घुस लिने तथा भ्रष्टाचार गर्ने काम गरेको अनुसन्धानबाट खुलेको छ ।