बैंकहरुलाई सरकारले दिनुपर्ने अनुदानको रकम १० महिनादेखि रोकियो


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन २७ २०८०
2.2K
SHARES

२६ साउन काठमाडौ । नेपाल सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत बैंकहरुलाई दिनुपर्ने अनुदानको रकम १० महिनादेखि रोकेको छ । उत्पादन र रोजगारी बढाउने भन्दै अर्थ मन्त्रालयले यो कार्यक्रम २०७३ देखि सञ्चालनमा ल्याएको थियो । भुक्तानी रोकिएपछि सहुलियतमा कर्जा लिएर व्यवसाय गर्नेहरु मर्कामा परेका छन् ।

सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गतको अनुदान रकम गत कात्तिकदेखि भुक्तान गरिएको छैन । भुक्तानीका लागि सरकारलाई पटक-पटक पत्राचार गरे पनि अर्थ मन्त्रालयले प्रक्रिया अघि नबढाएको राष्ट्र बैंकले जनाएको छ ।

सरकारले २०७३ देखि कृषिमा ब्याज अनुदान दिन सुरु गरेको थियो । तर २०७५ को कार्यविधिमार्फत प्रमाणपत्र धितो राखेर र विदेशबाट र्फकेकालाई पनि ब्याज अनुदानमा ऋण दिने व्यवस्था गरियो । २०७५ मा सात प्रकारका सहुलियतपूर्ण कर्जा दिन सुरु गरिएकामा अहिले बढाएर १० वटा कायम गरिएको छ ।

जसअनुसार अहिलेसम्म सरकारले २ खर्ब ३ अर्ब बराबरको कर्जा दिएको छ । यसअन्तर्गत ब्याज अनुदानबापत २२ अर्ब ३९ करोड खर्च भइसकेको छ । तर, कात्तिक यता भने सरकारले यस्तो अनुदानबापतको रकम भुक्तान गरेको छैन ।

सरकारले महिला उद्यमशील कर्जामा ६ प्रतिशत ब्याज आफैं बेहोर्छ भने अन्य ९ खालका कर्जामा ५ प्रतिशत बेहोर्ने गरेको छ । कर्जाको आकार बढ्दै जाँदा सरकारले बेहोर्नुपर्ने दायित्व बढ्दै गएको थियो । त्यसअनुसारको रोजगारी र उत्पादन बढ्न नसकेपछि सरकारले गत साउनदेखि राष्ट्र बैंकले यस्तो कर्जा प्रवाह निरुत्साहन गरेको छ । गत वैशाखदेखि राष्ट्र बैंकले यसबारे अनुसन्धानसमेत सुरुवात गरेको छ ।