अहिले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी हुन् – मन्त्री महत
२७ साउन काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएकाले डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । शनिवार ललतिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले नेपाल अहिले बिस्तारै विकासको बाटोमा अघि बढीरहेको बताए । उनले नेपालमा व्यापार व्यवसाय गर्नको लागि ठूलो अवसर रहेको भन्दै नेपाल विदेश भन्दा सबै किसिमले व्यापार व्यवसायका लागि राम्रो रहेको बताए ।
‘अहिले नेपाल पनि बिस्तारै विकासको बाटोमा अघि बढेको छ । अहिले कोरोना भाइरस लगायत विविध कारणले अर्थतन्त्रमा केही समस्या देखिएका छन् । तर यो अस्थायी हो र नेपाल अब अघि बढ्छ । नेपालमा व्यापार व्यवसाय गर्न ठूलो अवसर छ, विदेश गएकाहरुले पनि नेपालमा अवसर छ भनेर फर्किएर आएर यहाँ प्रविधि प्रयोग गरी राम्रो गरिरहका छन्’, उनले भने ।
उनले नेपालमा आइटी क्षेत्रले उल्लेखनीय काम गरिरहेको भन्दै बजेटमा पनि आइटी क्षेत्रमा लगानी गर्ने लगानी कर्ताका लागि राम्रो अवसर दिएको बताए । उनले आइटी क्षेत्र नेपालमा राम्रो रहेकाले लगानी बढाउन आग्रह गरे ।
‘आईटी क्षेत्र कोभिडपछि नेपालमा युवाहरुले अरु बाहिर जाने अवस्था नभएकाले उनीहरुको दिमाग कम्प्युटरमा गयो । आईटी क्षेत्र राम्रो बन्दै गइरहेको छ । नेपाली युवाहरु सफ्टवेयर निर्यात गरिरहका छन् विदेशमा । नेपाललाई पनि फाइदा गरिरहेका छन्, आफ्नो जीवन पनि राम्रो बनाइरहेका छन् । आइटी क्षेत्रका लागि धेरै ठूलो लगानी गर्न पर्दैन । यसको लागि समर्पण र स्किल भए पुग्छ । त्यसमा पनि लाग्न अनुरोध गर्छु । यस पटकको बजेटमा आइटी क्षेत्रमा लगानी गर्नेलाई ५० प्रतिशत कर कम गर्ने निर्णय गरेको छु’, अर्थमन्त्री महतले भने । मन्त्री महतले नेपालको अहिलेको चुनौति भनेको देशभित्रै रोजगारी सिर्जना गरी युवालाई विदेश जानबाट रोक्नु रहेको बताए ।