अर्थमन्त्रीले गभर्नरसहित बैंकका सीईओलाई सिंहदरबारमा बोलाएर छलफल
२८ साउन काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई छलफलका लागि बोलाएका छन् । आइतबार साढे ५ बजे सिंहदरबारस्थित अर्थमन्त्रालयमा हुने छलफलमा सहभागी हुन अर्थमन्त्रीको सचिवालयबाट खबर आएको एक वाणिज्य बैंकका सीईओले जानकारी दिए ।छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पनि बोलाइएको बताइएको छ । अर्थमन्त्री महतले बैंकको बैंकको ब्याजदर घटाउने विषयमा छलफलका लागि गभर्नरसहित वाणिज्य बैंकको सीईओहरुलाई बोलाएको बुझिएको छ ।
साउन महिना केही बैंकहरुले ब्याजदर बढाएका थिए । उद्योगी व्यवसायीहरुले भने बैंकको ब्याजदर महङ्गो भएको कारण नयाँ परियोजनामा लगानी गर्न नसकिने अवस्था भएको बताउने गरेका छन् ।
गत असारमा अर्थमन्त्रीले नै बैंकरहरुले ब्याजदरमा कार्टेलिङ गर्ने गरेको सार्वजनिक टिप्पणी गरेका थिए । त्यसको केही दिनपछि नेपाल बैंकर्स एसोसिएसनले बैंकहरुले स्वविवेकीय हिसाबले ब्याजदर तोक्न सक्ने व्यवस्था गरेको थियो ।
त्यसअघि, बैंकरहरुले छलफल गरेर मात्रै बैंकको ब्याजदर निर्धारण गर्ने गरेका थिए । अर्थमन्त्री महत भने बैंकले ब्याजदर घटाउनुपर्ने पक्षमा छन् ।