जिप पाल्पामा पहिरोले पुरिँदा ३ जनाको मृत्यु, ७ घाइते


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र १३ २०८०
1.6K
SHARES

१३ भदौ काठमाडौं ।  यात्रु लिएर काठमाडौं आउँदै गरेको जिप पाल्पामा पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ।  बुधबार बिहान गुल्मीबाट काठमाडौंको लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कार्पिओ जिप पहिरोमा पुरिँदा तीन जनाको घटनस्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

पाल्पाको रिब्दिकोट गाउँपालिका- २ जोर्तेमा बिहान सवा ८ बजे जिपमाथि पहिरो खसेको हो। घटनामा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।  ‘दुर्घटना ३ जनाको मृत्यु र सात जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ,’ डीएसपी थापाले नेपालखबरसँग भने, ‘घाइतेलाई उपचारको लागि पाल्पा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको छ।’

दुर्घटनामा ज्यान गुमाउनेमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरीका सहायक हवल्दार ३२ वर्षीय यमबहादुर बोहरा र गुल्मीको रेसुंगा नगरपालिका- ७ की ५० वर्षीया मनकला सुदारा छन्। अर्का एकजना मृतक पुरुषको सनाखत हुन बाँकी रहेको डीएसपी थापाले जानकारी दिए।

दुर्घटनापछि प्रहरीले घाइतेलाई उद्धार गरेर अस्पताल पुर्याएको थियो। घाइतेमध्ये एकजना बालक छन्।  सडकमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्दा दुर्घटना भएको हो।  ‘गुडिरहेको जिपमाथि ठूलो ढुंगासहितको पहिरो खस्दा दुर्घटना भएको हो,’ डीएसपी थापाले भने, ‘सडकमा पहिरो खसेपछि पाल्पा–गुल्मी सडकखण्ड पनि अवरुद्ध भएको छ।’