असोजमा ब्याजदर नबढाउन बैंकरहरुलाई अर्थमन्त्रीको निर्देशन
२८ भदौ काठमाडौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले असोजमा ब्याजदर नबढाउन बैंकरहरुलाई निर्देशन दिएका छन् । उनले पछिल्लो साता छुट्टाछुट्टै बैठकका लागि केही बैंकरहरुलाई बोलाएर बैंकहरुबाट कर्जा प्रवाहको अवस्था, निक्षेप संकलन तथा ब्याजदर घट्ने/नघट्ने विषयमा राय लिने काम गरेका छन् । यसअघि पनि अर्थमन्त्रीले बैंकरहरुलाई छलफलका लागि बोलाएका थिए ।
साताअघि अर्थमन्त्री डा. महतले केही सिनियर बैंकरहरुलाई सिंहदरबारमा डाकेका थिए । यो बीचमा अर्थमन्त्री डा. महतले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का अध्यक्ष सुनिल केसीलाई मन्त्रालयमै बोलाएर असोजमा ब्याजदर घटाउने गरी आवश्यक समन्वय गर्न निर्देशन दिइसकेका छन् ।