के गर्न मिल्छ हेरिदिनू भनेर भन्सार प्रमुखलाई फोन गरेँ – उपाध्यक्ष महरा
२१ असोज काठमाडौं । इलेक्ट्रिक सिगरेट (भेप) मा तस्करले ल्याएको सुन भन्सारले पक्राउ गरेपछि आफूले टेलिफोन गरेको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले स्वीकार गरेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कागज गर्दै उनले टेलिफोन गरेर मिल्छ भने हेरिदिनू भनेको स्वीकार गरेका हुन्। गत सोमबार सीआईबीले महरालाई बयान कागज गर्नका लागि कार्यालयमै बोलाएको थियो। साँझ सीआईबीमा पुगेका महराले ४५ मिनेट त्यहाँ बिताएका थिए। सोही क्रममा उनको कागज गराइएको छ। २०७९ पुस १० गते फ्लाई दुबईको फ्लाइट नम्बर एफजेड०५८७ बाट नेपाल आएका चिनियाँ नागरिक लि हङसङले दुई वटा सुटकेशभित्र ७३ बट्टामा ७३० थान इलेक्ट्रिक सिगरेट ल्याएका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा उक्त सामान पक्राउ गरिएको थियो। ‘भन्सारले सामान पक्राउ गरेपछि दावाजिन वाङले उक्त समान त्रिवि भन्सार कार्यालयमा पक्राउ परेको तीन दिन भयो, के भएको हो बुझिदिनु पर्यो भनि मलाई भनेको तथा मैले अरुण पोखरेललाई पहिलेदेखि चिनेको भएको हुनाले के कसो भएको हो कानुन बमोजिम के गर्न मिल्छ हेरिदिनु होला भनि फोन गरेको हो’, महराले सीआईबीमा गरेको कागजमा उल्लेख छ।