नेपालले जलवायु अनुकूलनको लागि छुट्याइएको रकम पाउनुपर्छ – महासचिव गुटेरेस


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक १४ २०८०
1.7K
SHARES

१४ कात्तिक काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु अनुकूलनको लागि छुट्याइएको कोषको रकम नेपालले पाउनुपर्ने बताएका छन् मंगलबार अन्नपूर्ण बेसक्याम्प अवलोकन भ्रमणपछि पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन्। महासचिव गुटेरेसले जलवायु अनुकूलनको लागि बनाइएका कोषको रकम जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल लगायत देशले पाउनुपर्नेमा जोड दिए। यस अवसरमा महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण पीडित बनेको नेपाललाई समर्थन गर्न अन्य देशलाई आग्रह समेत गरे।

जलवायु परिवर्तनको असर कम गर्न हिमाल र हिमनदी जोगाउनुपर्नेमा गुटेरेसको जोड रहेको छ। परिवर्तनकै कारण धेरै ठाउँमा भूस्खलन भएको भन्दै यसबाट पीडित समुदायका लागि विश्वस्तरबाटै प्रभावकारी कदम चाल्नुपर्नेमा उनले बताए।

‘हामीले यी अद्भुत हिमाल र हिमनदी जोगाउनुपर्छ। जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल र नेपालजस्ता अन्य देशलाई समर्थन गर्न आवश्यक छ’ गुटेरेस भन्छन्, ‘जलवायु परिवर्तनका कारण धेरै भाग भूस्खलन भएका छन्। यसका कारण धेरै समुदायमा परेको नकारात्मक असरलाई मैले अन्तर्राष्ट्रिय समुदायमा अपिल गर्नेछु।’

उनी थप्छन्, ‘पीडित समुदायको रक्षा गर्न र जलवायु अनुकूलनको लागि धेरै कोष पनि छन्। यी कोष क्षति कम गर्न र पीडित जनताको फाइदाका लागि बनाइएका हुन्। त्यसको उपयोग हुनुपर्छ।’