महाभूकम्पको जोखिम टरेको छैन – भूकम्प विज्ञ


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक १८ २०८०
3K
SHARES

काठमाडौं । जाजरकोटमा शुक्रबार रातियता भूकम्पका १७५ भन्दा धेरै धक्का मापन गरिएको छ । शनिबार दिउँसोसम्म १७५ भन्दा धेरै धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । केन्द्रका अनुसार उक्त धक्का ‘मझौला भूकम्प’ हो । त्यसपछि जाजरकोटमै चार म्याग्निच्युडदेखि माथिका पाँच धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार मुख्य भूकम्पपछिका धक्का परकम्प हुन् । तीमध्ये ‘ठूलो’ परकम्प शनिबार बिहान ४ बजेर १६ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४.६ म्याग्निच्युडको धक्का थियो ।

जोखिम टरेको छैन : भूकम्पविद्
भूकम्पविद्ले पश्चिम नेपालमा महाभूकम्पको जोखिम कायमै रहेको बताएका छन् । पश्चिम नेपाल आसपासमा ठूलो भूकम्पको सम्भावना कायमै रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताए ।

सानातिना र मझौला भूकम्प गइरहनु भनेको त्यस क्षेत्रमा ठूलो शक्ति सञ्चित छ भन्ने हो । गए रातिको भूकम्पले सचेत गराएको छ ।” ८ म्याग्निच्युडदेखि माथिका धक्कालाई महाभूकम्प भनिन्छ । ८ म्याग्निच्युडको सञ्चित शक्ति क्षय हुन ६ म्याग्निच्युडका हजारौँ भूकम्प जानुपर्ने उनले बताए ।

“८ को शक्ति सञ्चय भएको ठाउँमा त्यो क्षय हुन ६ को हजारौँवटा भूकम्प जानुपर्छ,” उनले भने, “साना र मझौला केही भूकम्प जाँदैमा जोखिम कम हुँदैन ।”

उनका अनुसार ६ भन्दा ७ म्याग्निच्युडको भूकम्प ३२ गुणा ठूलो हुन्छ । ६ भन्दा ८ म्याग्निच्युडको भूकम्प हजार गुणा ठूलो र शक्तिशाली हुन्छ । सोहीअनुसार क्षति पनि बढी हुन्छ ।

भूकम्पको म्याग्निच्युडसँगै केन्द्रविन्दु, भौगोलिक अवस्था, भौतिक संरचनाको स्थितिलगायत कारणले क्षतिमा प्रभाव पर्ने उनले स्पष्ट पारे ।शुक्रबार रातिको भूकम्पले जाजरकोट र रुकम पश्चिममा ठूलो जनधनको क्षति गरेको छ ।