नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक २५ २०८०
2K
SHARES

२५ कार्तिक काठमाडौं । अर्थ समितिले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन धितोपत्र बोर्डलाई निर्देशन दिएको हो ।

समितिले स्टक एक्सचेञ्जको अनुमति प्रदान गर्ने वा नगर्ने भन्ने विषय सर्वोच्च अदालतमा प्रवेश भई अन्तिम फैसलासमेत भइसकेकाले यसको लाइसेन्स प्रक्रिया अघि बढाउन उपयुक्त हुने निष्कर्ष निकालेको छ । यसअघि समितिकै जेठ २९ गते बसेको बैठकले विस्तृत अध्ययन नभएको भन्दै तत्कालका लागि यो प्रक्रिया अघि नबढाउन निर्देशन दिइएको थियो ।

समितिको शुक्रबारको बैठकले सर्वोच्च अदालतको आदेश एवं विस्स्तृत अध्ययनका आधारमा अब लाइसेन्स रोक्नुपर्ने अवस्था र औचित्य नदेखिएको भन्दै प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।