निर्माण व्यवसायीको सम्मेलन काठमाडौंमा शुरू
६ मंसिर काठमाडौं । एसिया र पश्चिम प्रशान्त क्षेत्रका १९ देशका निर्माण व्यवसायी (ठेकेदार) को सम्मेलन काठमाडौंमा शुरु भएको छ । ती मुलुकका निर्माण व्यवसायीको छाता संस्था इपाप्काको छयालीसौं अन्तरराष्ट्रिय सम्मेलनलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार उद्घाटन गरेका हुन् ।
सम्मेलनमा विभिन्न मुलुकका निर्माण व्यवसायीहरू र नेपालको पूर्वाधार विकाससँग प्रत्यक्ष जोडिएका मन्त्रालयका अधिकारीहरू सहभागी छन् । नेपाल निर्माण व्यवसायी महासंघले सम्मेलनमा निर्माण क्षेत्रमा सरोकार राख्ने स्वदेशी र विदेशी गरी ५०० भन्दा धेरै सहभागी रहेका जानकारी दिएको छ । यसअघि सन् १९९९ नेपालमा इफाप्का सम्मेलन आयोजना गरिएको थियो । मुख्यतः पूर्वाधार निर्माण र लगानी निम्ति यो इफाप्का सम्म्लन महत्वपूर्ण मानिन्छ ।
सम्मेलन उद्घाटन गर्दै राष्ट्रपति पौडेलले अर्थतन्त्र चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनले जलवायु परिवर्तनले निम्त्याइरहेको प्राकृतिक विपत्तिविरुद्ध जुध्न निर्माण क्षेत्रमा संलग्न हुनेहरूले विशेष सतर्कता अपनाउनुपर्ने पनि उल्लेख गरेका छन् ।
इफाप्काले नेपालमा यसअघि नै फाइनान्स कमिटी मिटिङ, प्रेसिडेन्सियल कनक्लेभ र एक्जिक्यूटिभ बोर्ड मिटिङ सम्पन्न गरिसकेको छ । जारी सम्मेलनमा जनरल एसेम्बलीसहित विभिन्न कमिटीहरूको बैठक हुने बताइएको छ । सम्मेलनबाट काठमाडौं घोषणापत्र जारी गरिनेछ ।