सासु कोषले बैंकमा पैसा राखेर ब्याज खानुभन्दा पूर्वाधारमा लगानी गर्नुपर्छ


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर १२ २०८०
1.7K
SHARES

१२ मंसिर काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोष (सासु कोष) मा जम्मा भएको फण्डलाई पूर्वाधारमा लगानी गनुपर्ने बताएका छन् । । छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै हाल कोषमा जम्मा भएको पैसा परिचालन नभएको बताउँदै त्यसलाई ठूलो पूर्वाधार परियोजनाहरूमा लगाउनु पर्ने बताएका हुन् ।

‘बैंकमा राखेर ब्याज खानेभन्दा कार्यविधि बनाएर कोषमा जम्मा भएको फण्डलाई पूर्वाधारमा लगानी गर्नुपर्छ’, उनले भने । यस्तै, पछिल्लो समय कोषमा कोषमा आवद्ध हुनेको संख्या बढ्दै गएकाे  र छोटो अवधिमा नै ४५ अर्ब फण्ड संकलन हुनु खुसीकाे विषय भएकाे बताए । आगामी दिनमा सबैभन्दा धेरै फण्ड भएको संस्थाका रूपमा उभिनु पर्ने ढकालकाे भनाइ छ ।

‘वैदेशिक रोजगारीमा जानेहरू गाउँघरमा उच्च ब्याजमा ऋण लिएर विदेश जान्छन्, त्यसका लागि कोषले अनलाइनबाटै सहज रुपमा कर्जा पाउने व्यवस्था हुनुपर्छ,’ ढकालले भने ।यस्तै, कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष राजेश कुमार अग्रवालले कोषमा भएको रकमलाई पूर्वाधारमा लगानी गर्दा अर्थतन्त्र चलायमान हुने बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि बैंकमा रकम राखेर ब्याज खानुभन्दा ठूला आयोजनामा लगानी गर्नुपर्ने बताए । छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।

हाल सामाजिक सुरक्षा कोषमा २० प्रतिशत योगदान दिनुपर्ने तर नागरिक लगानी कोष र कर्मचारी संचय कोषमा १० प्रतिशत योगदान दिनुपर्ने व्यवस्था छ । यस्तो विभेद हटाउनु पर्ने बताउँदै उनले कोषमा भएको फण्ड वृद्धि भएपछि वैदेशिक लगानी पनि आवश्यक नपर्ने बताए ।