गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख पुरस्कार दिन्छौं : मन्त्री किराँती


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर १८ २०८०
2.2K
SHARES

१८ मंसिर रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट नियमितरुपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको ५ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिनेगरी सरकारले कार्यक्रम ल्याउन लागेको बताएका छन् । नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधि मण्डलसँग सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री किराँतीले भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान जतिसक्दो छिटो गर्नेगरी गृहकार्य भइरहेको बताएका हुन् । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई इनाम स्वरुप ५ लाख प्रत्येक उडानको दिने तयारी गर्दैछौं’–मन्त्री किरांतीको भनाई उद्धृत गर्दै नाट्टा लुम्बिनीका अन्तर्राष्ट्रिय हवाई यातायात समन्वय समितिको संयोजक सन्जिव जोशीले बताए ।

मन्त्री किराँतीले नेपाल वायु सेवा निगमको जहाज भैरहवा पठाउन र जसरी पनि अन्तर्राष्ट्रिय उडान गर्नुपर्छ भन्नेमा रहेको भन्दै सरकारी ब्यवस्थापनमा समस्या भएमा निजी क्षेत्रसँग सहकार्य गरेर भएपनि उडान नियमित गर्ने प्रतिवद्धता जनाएका जोशीले जानकारी दिए ।राज्यको ४३ अर्बभन्दा बढी लगानी भएको गौतमबुद्ध विमानस्थल र विमानस्थल देखेर ६५–७० अर्ब लगानी गरेको निजी क्षेत्रको बारेमा सरकार चिन्तित रहेको समेत मन्त्री किराँतीले व्यवसायीसंग बताएका थिए ।

नाट्टा लुम्बिनीको तर्फबाट ९ बुँदे ज्ञापनपत्र बुझाउँदै निवर्तमान अध्यक्ष सागर अधिकारीले भैरहवाको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि नेपाल बायुसेवा निगमको जहाजले थालनी गर्नुपर्ने निजी क्षेत्रको माग रहेको बताए । मन्त्रीसँगको छलफलमा आफूहरुले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको थालनी तत्काल गर्न माग गरेको उनले जनाए ।