एनसेल प्रकरणमा अर्थ समितिले डाक्यो गभर्नरलाई


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर २० २०८०
2.1K
SHARES

२० मंसिर काठमाडौ । निजी टेलिकम कम्पनी एनसेलको मुख्य लगानीकर्ता आजियाटाले आफ्नो ८० प्रतिशत सेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई बेचेपछि यसमा आर्थिक अनियमितता भएको आशंकामा संसद्का दुई समितिले अध्ययन थालेका छन्।  प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति र अर्थ समितिले बुधबार यसबारे छलफल गर्न बैठक डाकेका छन्। दुवै समितिले आर्थिक अनियमितताबारे अध्ययन गर्ने हैसियत राख्छन्।

यस विषयभा सार्वजनिक लेखा समितिले आइतबार सम्बन्धित निकायलाई कागजात उपलब्ध गराउन पत्र पठाएको थियो। मागअनुसार कागजात आए तिनैमा आधारित भएर छलफल गर्ने र नआए समितिका सदस्यबीच छलफल गरी कसरी अघि बढ्ने भन्ने निक्र्योल गर्ने जानकारी सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले दिए। त्यस्तै अर्थ समितिले नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारी र राष्ट्र बैंकका गभर्नरसँग छलफल गर्न उनीहरूलाई डाकेको छ।

अर्थ समितिले पहिलो बैठकमा प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालसहितलाई र दोस्रो बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएको छ। प्राधिकरणका पदाधिकारीसँग दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबाट प्राप्त हुने रोयल्टी, राजस्वको तथ्यांक र स्थिति सम्बन्धमा छलफल गरिने अर्थ समितिका सभापति सन्तोष चालिसेले जानकारी दिए।