वैदेशिक अध्ययन शीर्षकमा बाहिरिने रकम ७० प्रतिशतले बढ्यो
४ पुस काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा वैदेशिक अध्ययनमा बाहिरिने रकम ७० प्रतिशतले बढेको छ ।नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आवको पहिलो चार महिनामा विदेश पढ्न जाने विद्यार्थीले २२ अर्ब ६१ करोड रुपैयाँ लगेका थिए । तर, यसपालि त्यो रकम ३८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।नेपालबाट जापान, अष्ट्रेलिया, युरोप, अमेरिका जस्ता मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीले त्यो बराबरको रकम लगेका हुन् । विशेषगरि गरी यी मुलुक नै नेपाली विद्यार्थीको रोजाइमा देखिन्छ । पढाइका साथै राम्रो कमाई हुने भएपछि नेपाली विद्यार्थी विदेशिने गरेको छन् ।
गत आवभरमा भने वैदेशिक अध्ययनमा १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो । यो वर्ष त्यो भन्दा पनि बढी रकम बाहिरिने आकलन गरिएको छ ।पछिल्लो समय वैदेशिक अध्ययनमा जाने नेपाली विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । नेपालमा रोजगारीको अवसर छैन । शिक्षाको गुणस्तर छैन, त्यसमाथि शिक्षा महँगो हुँदै गएको छ । यी यस्ता कारण नेपाली विद्यार्थीमा नेपालमै बस्ने मनोबल घट्दै गएको जानकारहरू बताउँछन् । त्यसपछि पछिल्लो समय एसइई तथा प्लस टु सक्न साथ वैदेशिक अध्ययनमा जाने विद्यार्थीको लहर छ ।
अध्ययन र कमाई दुवै हुने भएपछि यस प्रति आकर्षण बढ्दै गएको छ । विदेशमा पढ्दै काम गर्दा पनि आम्दानी गर्न सक्ने र पढिसकेपछि योग्यता अनुसार काम पाउने अवसर हुने भएकाले पनि नेपाली विद्यार्थीहरुको विदेश अध्ययन मोह बढ्दै गएको देखिन्छ ।यसरी वैदेशिक अध्ययनमा जाने विद्यार्थीको सङ्ख्या बढेपछि यस मार्फत बाहिरिने रकम पनि बढेको हो । विदेशी पढ्न जाने विद्यार्थीको कलेज शुल्क र आवास शुल्क लगायतका पैसा नेपालबाटै लैजानुपर्ने हुन्छ
विदेश भ्रमणमा नेपालीको खर्च साढे २३ अर्ब
यसै गरी समीक्षा अवधिमा विदेश भ्रमणमा नेपालीले साढे २३ अर्ब खर्च गरेका छन् । तथ्याङ्क अनुसार समीक्षा अवधिमा भ्रमण तर्फको खर्च २३ अर्ब ४८ करोड छ ।गत आवको यसै अवधिमा यस्तो खर्च १४ अर्ब ९३ करोड थियो । समीक्षा अवधिमा यसरी हुने खर्च ६६ प्रतिशतले बढेको देखिन्छ ।
समीक्षा अवधिमा विदेशी पर्यटक मार्फत हुने आम्दानी पनि ४७.२ प्रतिशतले बढेर २५ अर्ब ७४ करोड पुगेको छ । गत आवको यस अवधिको यस्तो आम्दानी १७ अर्ब ४९ करोड रुपैयाँ थियो ।