५४ खर्ब ५६ अर्ब पुग्यो नेपालको जीडीपी
२७ पुस काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा वित्तीय तथा बिमा क्षेत्रको आर्थिक वृद्धि (कुल मूल्य अभिवृद्धि) १३.२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । केन्द्रीय तथ्याङ्क कार्यालयले पहिलो त्रैमासको आर्थिक वृद्धि सम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै यस्तो जनाएको हो ।
कार्यालयले पहिलो त्रैमासमा समग्र नेपालको आर्थिक वृद्धि ३.२ प्रतिशतले बढेको अनुमान गरेको छ । त्यस भित्रका विभिन्न आर्थिक क्षेत्र मध्ये बैङ्क तथा बिमा क्षेत्रमा सो बराबरको आर्थिक वृद्धि हुने अनुमान गरिएको हो । धेरै आर्थिक वृद्धिदर हुनेमा बैङ्क तथा बिमा क्षेत्र दोस्रो नम्बरमा छन् ।
निक्षेप तथा कर्जामा भएको वृद्धि, अन्तर बैङ्क ब्याजदरमा भएको परिवर्तन, बढ्दो बिमा प्रिमियम लगायतका कारणले यस क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव परेको केन्द्रीय तथ्याङ्क कार्यालयको भनाइ छ ।
सबै भन्दा बढी आर्थिक वृद्धि भने खानी तथा उत्खननमा हुने अनुमान गरिएको छ । समीक्षा अवधिमा खानी तथा उत्खनन क्षेत्रको आर्थिक वृद्धि १५.८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । निर्माण क्षेत्रसँग प्रत्यक्ष आधारित हुने बालुवा गिट्टी तथा ढुङ्गाको उत्खननले यस्तो प्रभाव परेको देखिन्छ । तेस्रोमा भने आवास तथा भोजन सेवा क्षेत्र रहेको छ, समीक्षा अवधिमा यस क्षेत्रको आर्थिक वृद्धि ११.७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । पहिलो त्रैमासिक अवधिमा पर्यटकको आगमनमा भएको उल्लेख्य वृद्धिले यस क्षेत्रमा प्रत्यक्ष रूपमा सकारात्मक असर परेको कार्यालयको भनाइ छ ।
समीक्षा अवधिमा निर्माण क्षेत्रको आर्थिक वृद्धि ११.४ प्रतिशतको बढ्ने अनुमान गरिएको छ । त्यसै गरी यस अवधिमा अर्थतन्त्रमा सबै भन्दा बढी योगदान रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर १.४ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । धानको उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको कार्यालयको भनाइ छ ।
यद्यपि, थोक तथा खुद्रा व्यापार क्षेत्रको आर्थिक वृद्धि १.२ प्रतिशतले कमी हुने प्रारम्भिक अनुमान गरिएको छ । समग्र आयातमा सामान्य वृद्धि भएता पनि व्यापारजन्य वस्तुहरूमा आएको कमीको कारणले यस क्षेत्रको वृद्धिदरमा कमी आएको कार्यालयको भनाइ छ ।
गत आवको चौथो त्रैमास अर्थात् वैशाख, जेठ र असारको तुलनामा भने चालु आवको पहिलो त्रैमासमा १२ वटाको क्षेत्रका कुल मूल्य अभिवृद्धिमा बढ्ने र अन्य ६ वटा क्षेत्रका उत्पादनमा कमी रहने अनुमान गरिएको छ । यस अवधिमा पानी आपूर्ति क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सबै भन्दा धेरै ७.३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । यसै गरी सोही अवधिमा मुख्यतः वित्तीय तथा बिमा क्षेत्र, सार्वजनिक प्रशासन तथा रक्षा, सूचना तथा सञ्चार क्षेत्रमा सुधार आएर क्रमशः ६.७, ५.५ र ३.८ प्रतिशतले बढ्ने अनुमान छ । सोही अवधिमा विद्युतको उत्पादनमा कमी भएकोले विद्युत् तथा ग्याँसको क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सबैभन्दा २१.९ प्रतिशतको कमी छ । यसै गरी थोक तथा खुद्रा व्यापार, निर्माण, खानी तथा उत्खनन र उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धिमा क्रमशः ८.०, ७.८, ५ र ३.८ प्रतिशतको कमी आउने अनुमान छ ।
कार्यालय गत आवको सोही अवधिको तुलनामा चालु आवको पहिलो त्रैमासमा ३.२ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिकको तुलनामा आर्थिक वृद्धिदर १.४ प्रतिशत हुनेछ । गत आवमा नेपालको जिडिपी ५३ खर्ब ८१ अर्ब ३४ करोड थियो । त्यसमा १.४ प्रतिशत थप गर्दा जिडिपीको आकार ५४ खर्ब ५६ अर्ब ६७ करोड पुगेको देखिन्छ । कार्यालयले मौसमी प्रभाव सहित त्रैमासिक कुल ग्राहस्थ उत्पादन र अन्तर्राष्ट्रिय मुद्रा कोषले ल्याएको सफ्टवेयरको आधारमा यो गणना गरेको हो ।