६ महिनामा सरकारको आम्दानी ५ खर्ब १८ अर्ब
१ माघ काठमाडौ ।पछिल्लो नौ दिनमा मात्रै ९३ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ। सरकारी आय व्ययको विवरण राख्ने महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार पुस २० गतेदेखि २९ गतेसम्म ९३ अर्ब ३१ करोड २४ लाख रूपैयाँको राजस्व संकलन भएको हो।
९ दिन ९३ अर्ब बढीको राजस्व उठेपछि पुस महिनामा मात्रै राजस्व संकलन एक खर्ब ३३ अर्ब पुगेको छ। त्यस्तै चालु वर्षको साउनदेखि पुससम्मको अवधिमा चार खर्ब ९६ अर्ब बराबरको राजस्व संकलन भएको छ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत वर्ष पुस महिनामा एक खर्ब २५ अर्ब रूपैयाँको राजस्व संकलन भएको थियो । यो वर्ष ६ महिनाको अवधिमा चार खर्ब ५८ अर्ब रूपैयाँको राजस्व संकलन भएको थियो।
त्यस्तै ऋण बाहेकको समग्र आम्दानी भने पाँच खर्ब १८ अर्ब रूपैयाँ पुगेको छ। जसमध्ये १८ अर्ब ८९ करोड अन्य प्राप्ति (विगतको बेरूजु असुल लगायतका रकम) र दुई अर्ब ७५ करोड रूपैयाँ वैदेशिक अनुदान रहेको छ। गत वर्षको तुलनामा यस्तो आम्दानी २४ अर्ब रूपैयाँले बढेको छ।
राजस्व प्रशासनले पुस महिनालाई राजस्वको आधार महिनाको रूपमा लिने गर्छन्। १२ महिनामध्ये पुस महिनालाई सबैभन्दा बढी कर उठाउने महिनाको रूपमा लिइन्छ।
अर्थमन्त्रीले पुस मसान्तसम्म उठ्ने राजस्वको विषयमा चासो देखाएर आइतबार साझ ठुला करदाता कार्यालयका प्रमुख आन्तरिक राजस्व विभागका प्रतिनिधि, मन्त्रालयका सचिव र राजस्व महाशाखा प्रमुखलाई बोलाएर अपडेट लिएका थिए। पुसमा उठेको राजस्व र खर्चसँग तुलना गर्दा खर्चमा दबाब नपर्ने देखिएपछि कतिपय क्षेत्रबाट सरकारले आउने आम्दानी तत्काल नउठाएको दाबी अर्थको छ। सरकारले नेपाल राष्ट्र बैंकबाट गत करिब २५ अर्ब रूपैयाँ लाभांश लिन बाँकी रहेकोमा अहिलेसम्म १० अर्ब रूपैयाँ मात्रै लिएको छ।