६ महिनामा सरकार ४८ अर्ब घाटामा
२ माघ काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि पुस) मा सरकारी खाता (वित्त) करिब साढे ४८ अर्ब रुपैयाँले घाटामा देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार पुस मसान्तसम्ममा पाँच खर्ब १८ अर्ब १५ करोड आम्दानी गरेको छ भने यो अवधिमा पाँच खर्ब ६६ अर्ब ६२ करोड खर्च भएको छ । यसमा पनि पुँजीगत खर्च भने करिब १६ प्रतिशत मात्र छ ।
आर्थिक वर्षमा कुल १४ खर्ब ७२ अर्ब ४८ करोड बराबर राजस्व उठाउने लक्ष्य राखेको सरकारले पुस मसान्तसम्म ४५ प्रतिशत अर्थात् ६ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, वार्षिक लक्ष्यको ३५.१९ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । गत वर्षको यही अवधिमा भने सरकारको आम्दानी ३२.९५ प्रतिशत थियो । यो हिसाबले सामान्य सुधार भएको देखिए पनि गएको वर्ष भने नेपालको अर्थतन्त्रका लागि एक असाधारण वर्ष थियो । विदेशी मुद्राको सञ्चिति तीव्र रूपमा घटेकाले सरकारले आयातमा प्रतिबन्ध नै लगाएको थियो, जसका कारण राजस्व संकलन ५२ वर्षयताकै कम भएको थियो ।
यो वर्ष भने विदेशी विनिमय सञ्चिति, शोधनान्तर, चालु खाता, रेमिट्यान्स आप्रवाहलगायत बाह्य सूचक निरन्तर बलियो भइरहेको, वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, ब्याजदर घटिरहे पनि सरकारी वित्तको अवस्था अझै नाजुक रहेकामा अर्थविद्हरूले चासो व्यक्त गरेका छन् । यो वर्ष लक्ष्यअनुसार राजस्व संकलन नभएको मात्र होइन, पुँजीगत खर्च र वैदेशिक सहयोग तथा अनुदानको अवस्था पनि नाजुक छ । सरकारले चालु आर्थिक वर्षका लागि कुल ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान प्राप्त हुने लक्ष्य राखेकोमा गत पुससम्म ५.५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड मात्र प्राप्त भएको छ ।