सडक निर्माणमा एकै पटक बजेट राख्न सकिँदैन – अर्थमन्त्री
२ माघ नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले सडक निर्माणमा एकै पटक बजेट राख्न नसकिने बताएका छन् । सोमबार नुवाकोटको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘सडक निर्माणमा एकै पटक बजेट राख्न सकिँदैन । देशमा आवश्यकता धेरै छन्, आम्दानी थोरै छ । अर्थमन्त्रीले देशैभरि हेर्नुपर्छ, मैले नुवाकोटलाई मात्र हेर्न मिल्दैन’ मन्त्री डा. महतले भने, नुवाकोटमा अझ धेरै बजेट राख्ने चाहना हुँदाहुँदै छुट्न गएको छ, ती आउँदा दिनमा समेटिने छन् ।’बाटोले विकासको धेरै ठूलो सम्भावना खुलेको अर्थमन्त्री डा. महतले बताए । उनले भने, ‘मध्यपहाडी लोकमार्ग पहिला यहाँबाट लैजाने योजना थिएन । पाँचखालबाट काठमाडौं हुँदै झोरबाट छहरे झार्ने योजना थियो । काठमाडौंबाट पछाडि परेको शिवपुरीबाट बाटो जानुपर्छ भनेर मैले प्रस्ताव गरेको हुँ । अहिले लोकमार्ग बनेको छ । अब यो ठाउँको शुभदिन सुरु भएको छ । हामीले यसको भरपूर उपयोग गर्नुपर्छ ।’
मन्त्री डा. महतले भने, ‘शिवपुरी गाउँपालिका पहिला पिछडिएको थियो, विजुली र यातायातको सुविधा थिएन, धेरै उतारचढावपछि यो क्षेत्र रुपान्तरिक भएको छ । ०४६ सालपछि विकास गाउँ पस्यो । सडक, शिक्षा, स्वास्थ्य चौकी, खानेपानी र सिँचाई तथा नागरिक सशक्तिकरण प्रारम्भ भयो ।’ उत्पादनको सम्भावनालाई प्रयोग गर्न अनुरोध गर्दै मन्त्री डा. महतले भने, ‘सरकारले उत्पादनमा अनुदान दिने नीति सरकारले बजेटमार्फत् ल्याएको छ । पहिलाजस्तो गैरकृषकले कागजमा देखाएर अनुदान लिने परम्परा अन्त्य भएको छ । अब कागजमा देखाएर हुँदैन, उत्पादन देखाउनुपर्छ । उत्पादन देखाउँदा अनुदान पाइछ । यसको उपयोग गर्न म अनुरोध गर्दछु ।’
अर्थमन्त्रीले बताए अनुसार नुवाकोट जिल्लामा बजेट राम्रोसँग परेको थिएन । डा. रामशरण महत अर्थमन्त्री भएका बेला पुल र बाटो निर्माणका धेरै योजना आएका थिए । त्यसपछि केही समय रोकिएको थियो । अहिले जगतेदेखि गोल्फु भञ्ज्याङसम्मको बाटोका लागि एक अर्ब २० करोड रुपैयाँको ठेक्का प्रकृया अघि बढिसकेको छ । ककनी जाने बाटोमा पनि एक अर्ब ३० करोड रुपैयाँको ठेक्का प्रकृया अगाडि बढिसकेको छ ।