निक्षेप संकलनको औसत ब्याजदर हालसम्मकै उच्च
५ माघ काठमाडौं । नेपाल राष्ट्र बैंकले अल्पकालिन ब्याजदरलाई स्थायित्व दिनका लागि प्रयोग गर्ने निक्षेप संकलन उपकरणको औसत ब्याजदर ३.१४१९ प्रतिशत पुगेको छ । बिहीबार कायम भएको निक्षेप संकलनको औसत ब्याजदर यो वर्षकै उच्च हो ।वित्तीय प्रणालीमा अधिक तरलता भएपछि अन्तर बैंक ब्याजदर एक प्रतिशत भन्दा तल आयो । त्यसपछि केन्द्रीय बैंकले गत मंसिर देखि माघ ४ गतेसम्म गरेर २२ पटक निक्षेप संलन उपकरण मार्फत तरलता खिच्ने काम ग्रयो । केन्द्रीय बैंक बजार तरलता लगेपछि अन्तर बैंक दर संगै निक्षेप संकलन उपकरणको ब्याजदर पनि बढ्न थाल्यो । केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता खिचेसंगै प्रतिस्पर्धा कम हुनुका साथै ब्याजदर बढ्न पुगेको हो । त्यसका साथै बिहीबार अधिकतम दर माग गर्नेले भन्दा पनि न्यूनतम माग्नेले नै विगतको तुलनामा बढाएपछि औसत ब्याजदर बढेको हो ।अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमा भन्दा तल आएको खण्डमा केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण जारी गर्छ । राष्ट्र बैंकका अनुसार ब्याजदर करिडोरको तल्लो सीमा ३ प्रतिशत तोकिएको छ । निक्षेप संकलन उपकरणको ब्याजदर नै करिडोरको तल्लो सीमा हो ।
मंसिर महिना देखि बिहीबारसम्ममा केन्द्रीय बैंकले ४ खर्ब ४० अर्ब रुपैयाँ बरावरको निक्षेप माग गरेको छ । त्यसका लागि बैंक वित्तीय संस्थाले ३ खर्ब ५९ अर्ब ७५ करोड रुपैयाँ दिएका छन् । बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकलाई दिएको निक्षेप मध्ये बिहीबारसम्ममा ८५ अर्ब रुपैयाँ अझै बाँकी छ । केन्द्रीय बैंकका अनुसार बुधबार वित्तीय प्रणालीमा २६ अर्ब तरलता रहेको थियो । बिहीबार २० अर्बको निक्षेप संकलन पछि त्यसमा पनि घटेको हुन सक्ने केन्द्रीय बैंकका एक अधिकारीले बताए ।
बुधबार ब्याजदर बढाएर बैंक तथा वित्तीय संस्थाबाट निक्षेप लिन नचाहेको केन्द्रीय बैंकले बिहीबार भने बढाएको छ । बुधबार केन्द्रीय बैंकले ३० अर्ब रुपैयाँ बरावरको निक्षेप संकलन उपकरण जारी गरेकोमा २४ अर्ब ७० करोड रुपैयाँ बराबरको मात्र निक्षेप लिएको थियो । त्यसपछि वित्तीय प्रणालीमा अझै पनि तरलता धेरै भएको हुनाले अन्तर बैंक दर घट्न सक्ने भन्दै बिहीबारका लागि पनि २० अर्ब निष्कासन गर्ने निर्णय गरेको थियो ।
बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउने क्रम जारी राखेको अवस्थामा पनि कर्जाको माग अपेक्षा गरेअनुसार बढ्न सकेको छैन । बैंकहरुले कर्जा लगानी गर्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था बनेको छ । वित्तीय प्रणालीमा अधिक तरलता भएको अवस्थामा ब्याजदर समेत प्रभावित हुन्छ । त्यसैले केन्द्रीय बैंकले तरलता व्यवस्थापन तथा व्याजदरको अस्वभाविक उतारचढावलाई रोक्न निक्षेप संकलन उपकरण प्रयोग गर्छ । बिहीबार बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन उपकरणमा लगानी गर्दा अधिकतम ३.२७ र न्यूनतम २.९१२४ प्रतिशत ब्याजदर माग गरेका छन् । यसको औसत ब्याजदर यो वर्षकै उच्च ३.१४१९ कायम भएको छ । बुधबारको निक्षेप संकलन उपकरणका लागि बैंक वित्तीय संस्थाले अधिकतम ३.२९९९ र न्यूनतम २.८९४४ प्रतिशत ब्याज माग गरेका थिए । बुधबारको निक्षेप संकलन उपकरणको औसत ब्याजदर ३.०९८८ प्रतिशत कायम भएको थियो ।